१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पुनःनिर्माणको काम असार मसान्तमै सक्न चुनौती


0
Shares

काठमाडौं, कात्तिक २६ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास, सरकारी भवन तथा स्वास्थ्य संस्थाहरुको पुनःनिर्माण आगामी असार मसान्तमै सक्ने दाबी गरेको छ ।

पछिल्लो पुनःनिर्माणमा वर्षाैंदेखि विवादास्पद बनेका साँस्कृतिक सम्पदाहरुको कामले तीव्रता पनि पाएको छ । तर, असार मसान्तमै पुनःनिर्माणको काम सक्न भने चुनौती देखिएको छ ।

समयमै पुनःनिर्माणका काम सम्पन्न हुन नसक्ने देखिएपछि आगामी असार मसान्तभित्रै सम्पूर्ण पुनःनिर्माण सक्ने र पुस मसान्तसम्म सम्बन्धित निकायलाई हस्तान्तरण गर्नेगरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको समय एक वर्ष थप गर्न लागिएको हो ।

प्राधिकरणकाअनुसार निजी आवासमा ७८ प्रतिशतले तेस्रो किस्ता अनुदान लिन बाँकी छ भने ९२ प्रतिशत घर सम्पन्न हुनेक्रममा छन् । त्यसमध्ये निजी आवास पुनःनिर्माण आगामी जेठभित्रै सक्नुपर्नेछ ।

अहिलेसम्म ८० प्रतिशत सम्पन्न भएका विद्यालय, ६३ प्रतिशत सम्पन्न साँस्कृतिक सम्पदाको सबै काम असार मसान्तमै सक्नुपर्ने देखिएको छ ।

७२० मध्ये ४५४ सम्पदाको पुनःनिर्माण सकिएको छ । उपत्यकामा रहेको रानीपोखरीको उद्घाटन भएको छ भने धरहराको १८औं तलासम्मको काम सकिएको छ । सिंहदरबारको दक्षिण मोहडाको प्रबलीकरणको काम भइरहेको छ ।

प्राधिकरणले अहिलकै अवस्थामा काम गर्दा आगामी असार मसान्तसम्ममा पुनःनिर्माण सम्पन्न गर्ने प्रवक्ता मनोहर घिमिरेले जानकारी दिनुभयो ।

‘लकडाउन’ र साँस्कृतिक सम्पदाको डिजाइन तथा अत्यावश्यक सामग्रीको उपलब्धताका कारण काममा ढिलाइ भएको उहाँको भनाइ छ ।

दशैं आसपास नै निर्माण हुने भनिएको धरहरा पुनःनिर्माणमा पनि कोरोनाले गर्दा अहिलेसम्म ४४ प्रतिशतमात्रै काम सम्पन्न भएको छ ।

माघ २ मा प्रधानमन्त्रीलाई लिफ्टको यात्रा गराउने र वैशाखमै उद्घाटन गर्ने योजना रहेपनि चुनौती देखिएको प्राधिकरणमा कार्यरत् पुनःनिर्माणविज्ञ राजुमान मानन्धर बताउनुहुन्छ ।

उता, काष्ठमण्डपको काम पनि असार मसान्तमै सकिने अवस्थामा छैन । उद्घाटन भइसकेको रानीपोखरी कहिलेबाट स्थानीयका लागि खोल्ने भन्ने जिज्ञासा चौतर्फी छ ।

समग्र पुनःनिर्माणको कामले तीव्रता पाएपनि साँस्कृतिक सम्पदा तथा विद्यालय र सरकारी भवनको पुनःनिर्माणमा कोरोना र लकडाउनका कारण भएको सुस्ततालाई हेर्दा आगामी असार मसान्तमै पुनःनिर्माण सम्पन्न नहुने देखिएको छ ।

भिडियो हेर्नुहोस्

भिडियोः दिलिप पोखरेल ।