१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विभाग खारेजीको मुद्दालाई जोडतोडले उठाउने पौडेल समूहको तयारी


0
Shares

काठमाडौं, कात्तिक २६ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आगामी शुक्रबार बस्दैछ । पदाधिकारी, पूर्वपदाधिकारी तथा केही केन्द्रीय सदस्य सम्मिलित बैठकको मौखिक सहमतिलाई औपचारिकता दिनु बैठकको मुख्य एजेन्डा हो ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सहमति जुटेका विषयमा भन्दा पनि विभाग खारेजीको मुद्दालाई प्राथमिकताका साथ उठान गर्ने बुझिएको छ ।

भातृ तथा शुभेच्छुक संस्थाहरुले महाधिवेशन नगरेसम्म पार्टीमा महाधिवेशनमा प्रतिनिधित्व नपाउने, क्रियाशील सदस्यता छानबिन समिति गठन गरेर समस्या समाधान गर्नेलगायतका विषयमा सहमति जुटेसँगै कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सौहार्द वातावरणमा सम्पन्न हुने आँकलन छ ।

चारपटक बैठक स्थगित गरेर सातपटकसम्म पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्यहरुले छलफल गर्दै पार्टीभित्र गहिरिएको विवाद समाधानको प्रयास गरेका थिए ।

महामन्त्रीद्वयलाई सहमतिको खाका तयार पार्ने कार्यभार सुम्पेसँगै शुक्रबार बस्ने बैठकमा पौडेल समूहले बखेडा नगर्ने संस्थापन पक्षको आँकलन छ ।

तर, गठन भएको विभाग खारेज नभएको मुद्दालाई बैठकको एजेन्डा बनाउने पौडेल समूहको तयारी छ ।

बैठकले पार्टीको आसन्न १४औं महाधिवेशनको मिति सार्ने तथा कार्यतालिका संशोधन गर्ने विषयलाई टुंगोमा पुर्‍याउने सम्भावना न्यून छ ।

केही दिनअघिको बैठकमा क्रियाशील सदस्यताको टुंगो लगाएपछिमात्र कार्यतालिकाको विषयमा छलफल गर्न संस्थापन र इतर समूह तयार भएका छन् ।

केन्द्रीय सदस्य कल्याण गुरुङ मतभिन्नतामा कमी आएपनि विषयहरु टुंगोमा नपुगेको टिप्पणी गर्नुहुन्छ ।

विभाग खारेजीको माग चर्कंदा सभापति शेरबहादुर देउवा भने आफूनिकटलाई मनाउन नौओटा विभाग थप्ने तयारीमा हुनुहुन्छ ।

तर, सहमहामन्त्री प्रकाशशरण महत प्रचार गरिएजस्तो पार्टीमा विवाद नभएको दाबी गर्नुहुन्छ ।

शुक्रबारको केन्द्रीय समिति बैठक पार्टीभित्रको आन्तरिक विवादलाई हल गर्ने प्रयत्नमा केन्द्रित त होला नै । योसँगै प्रतिपक्षी दलको रुपमा आफ्नो भूमिकाको समीक्षा, संसद बैठक बोलाउन दबाब दिने तथा देशका अन्य समसामयिक विषयको छलफललाई प्राथमिकतामा राख्छ या राख्दैन त्यो भने हेर्न बाँकी छ ।

भिडियो हेर्नुहोस्