१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निस्क्रिय बन्दै ‘सीसीएमसी’


0
Shares

काठमाडौं, कात्तिक २६ । देशभर कोरोना संक्रमितको संख्या दुई लाख नाघेको छ । तर, संक्रमण रोकथाम तथा नियन्त्रणकोे लागि गठन भएको सरकारी संयन्त्र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समिति निस्क्रियजस्तै भएको छ ।

बढ्दो संक्रमण दरले पनि संक्रमण रोकथाम तथा निणन्त्रणमा सीसीएमसी चुकेको प्रष्ट छ ।

गत जेठ २८ गते सरकारले कोरोना रोकथामका लागि गठित उच्चस्तरीय समिति विघटन गरी उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा १० जना मन्त्रीहरु सदस्य रहेको कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र सीसीएमसी निर्देशक समिति गठन गर्‍यो ।

संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि व्यक्तिहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’देखि मृतकहरुको शव व्यवस्थापनसम्मको जिम्मेवारी सीसीएमसीलाई दिइएको छ ।

तर, पछिल्लो समय संकटको बेला सम्पूर्ण कामको नेतृत्वदायी जिम्मेवारी पाएको सीसीएमसीको ध्यान महामारी रोकथाममा केन्द्रित भएको छैन ।

कोरोना संक्रमण नेपालमा नियन्त्रण बाहिर गइसकेको अवस्था छ । सात महिनाको अवधिमा कोरोना संक्रमितको संख्या दुई लाख नाघेको छ । संक्रमितको संख्या न्यून हुँदा सक्रिय रहेको निर्देशक समिति संक्रमण बढ्दा भने निस्क्रिय बन्यो ।

सीसीएमसीको सिफारिसकै आधारमा मन्त्रिपरिषद्ले महामारीका सम्बन्धमा निर्णय गर्दै आएको छ । तर, असोज २४ पछि सीसीएमसीको एउटामात्र बैठक बस्यो । त्यसलेपनि संक्रमण रोक्ने ठोस निर्णय भने गरेन ।

दैनिक हजारौंको संख्यामा संक्रमित बढिरहेका बेला निर्देशक समिति भने विज्ञहरुसँगको छलफलमै अलमलिएको छ ।

सीसीएमसीले देखिनेगरी काम गर्न नसकेको आरोप लागिरहँदा सीसीएमसी निर्देशक समितिका सचिव मुकुन्द गुरागाईं भने काम भइरहेको दाबी गर्नुहुन्छ ।

जनस्वास्थ्यविद् समिरमणि दीक्षित सीसीएमसी आफ्नो जिम्मेवारीबाट पन्छिरहेको भन्दै यसको आवश्यकता नै नभएको जिकिर गर्नुहुन्छ ।

सीसीएमसीको हरेक निर्णयमा राजनीतिक दल हाबी भएको भन्दै पुनःसंरचना गर्नुपर्ने उहाँको तर्क छ ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायमा जिम्मेवारी सार्दै आएको छ । कहिले प्रमुख जिल्ला अधिकारी त कहिले स्थानीय तहलाई अघि सारिएको छ ।

सरकारी संयन्त्रहरु निस्क्रिय बन्दा महामारी नियन्त्रणमा आउने कुनै छाँट देखिएको छैन ।

भिडियो हेर्नुहोस्