
काठमाडौं, कात्तिक २६ । यमपञ्चकमा लक्ष्मीपूजा, म्हःपूजा र भाइटीका गर्नेक्रममा हातले नै बनाएको र रंग्याइएकोे चित्रमा पूजा गरिन्छ ।
तर, विदेशबाट आयातित देवी–देवताकोे फोटो र सरकारको मौलिक कला संरक्षण र प्रोत्साहन गर्ने नीति नभएका कारण यो कला संकटमा परेको छ ।
याच्छें भक्तपुरका ६७ वर्षीया कलाकार चेतकुमारी चित्रकारको जोश र जाँगर हेर्दा लाग्छ, नेपालीमा मिहिनेत हातहरुको कमी छैन । चाहिन्छमात्र प्रोत्साहन र मौलिक कलालाई संरक्षण गर्ने सरकारी ठोस नीति ।
हामी जाँदा उहाँ कोठाभित्र लक्ष्मीलगायतका विभिन्न देव–देवीहरुको चित्रमा रंगाउन व्यस्त हुनुहुन्थ्यो ।
केही समय निकालेर हामीसँग कुरा गर्दा उहाँले घरको बुहारी भएरपनि पारिवारिक चित्रकारिताको परम्परागत पेसालाई धान्दै आएको बताउनुभयो ।
पूजा गर्न नेपाली कागज र प्राकृतिक रङबाट हातैले बनाए चित्र शुद्ध मानिन्छ । नेपाल मण्डलमा यमपञ्चकमा धनलक्ष्मीको चित्रमा पूजा गरिन्छ ।
चार हात भएकी धनलक्ष्मीको चित्रमा ज्वल न्हायकं (दपर्ण), सिन्ह मू (सिन्दूरको भाँडो) र एक बरद र एक हात अभय मुद्रामा रहेको हुन्छ । बाहन कछुवा हुन्छ भने गणको रुपमा धनकुबेर र सेतो ख्याक रहेको हुन्छ । तर, यो मौलिक चित्रहरु लोप हुने अवस्थामा पुग्दा उहाँ दुःखी हुनुहुन्छ ।
करिब २०० वर्षअगाडिको चित्रको साँचो देखाउँदै परम्परा बचाउनमात्र सासू–ससुराको निधनपछि यो उमेरमा पनि सृजनालाई निरन्तरता दिइरहेको उहाँले बताउनुभयो ।
सोह्र लक्ष्मीमध्ये स्वन्ति नखः लक्ष्मीपूजामा धनलक्ष्मीलाई पुज्नु नेपाल मण्डलको मौलिक परम्परा हो । तर, अहिले विदेशबाट आयातित ‘प्रिन्टेड’ लक्ष्मीलगायतका फोटोहरुले यहाँको परम्परागत चित्रहरु लोप हुने अवस्था आएको चेतकुमारीका छोरा राजेश चित्रकारको भनाइ छ ।
उहाँ भन्नुहुन्छ–‘एउटा चित्र रंग्याउन ३० मिनेट समय चाहिन्छ । तसर्थ, मिहिनेतअनुसारको प्रतिफल छैन । मात्र परम्परा धान्नमात्र यो पेसा नछोडेको हो ।’
यसको धार्मिक, साँस्कृतिक र मौलिक परम्पराको गाम्भीर्यतालाई बुझेर यो प्रचलनलाई लोप हुनबाट जोगाउन ठोस नीतिको आवश्यकता छ ।
यस वर्षको यमपञ्चकमा मौलिक कला र स्वदेशी उत्पादनको लागि प्रोत्साहन साकार पार्ने हो कि !
प्रतिक्रिया दिनुहोस्