
काठमाडौं, कात्तिक २६ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको आत्मविश्वास र मनोबल नबढाइकन अर्थतन्त्रलाई गतिशील बनाउन नसकिने बताउनुभएको छ ।
बुधबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रबिना अर्थतन्त्रलाई गतिशील बनाउन नसकिने बताउनुभएको हो ।
मन्त्री पौडेलले कोभिड–१९ ले सिर्जना गरेको चुनौतीलाई परास्त गर्दै अर्थतन्त्रलाई पुनरुत्थान गर्न, रोजगारीका अवसर बढाउन र उत्पादन बढाउने काम निजी क्षेत्रबिना सम्भव नभएको बताउनुभयो ।
अहिलेको प्रतिकूल परिस्थितिकाबीच पनि व्यवसाय सुचारु गर्न र राष्ट्रिय अर्थतन्त्रमा आ–आफ्नो ठाउँबाट योगदान दिन अनुकूल परिस्थितिको निर्माण गर्ने भूमिकामा सरकार रहेको उहाँले बताउनुभयो ।
यस्तै, सरकारले घोषणा गरेका कार्यक्रमहरु कार्यान्वयनमा नगएको सम्बन्धमा आफ्नो ध्यानकेन्द्रित भएको पनि अर्थमन्त्री पौडेलले बताउनुभयो ।
उहाँले सरकारले घोषणा गरेको पुनर्कर्जा तथा ‘स्टिमुलस प्याकेज’हरु कार्यान्वयनको चरणमा रहेको बताउनुभयो ।
करका दरहरु उच्च हुँदा कुनैपनि वस्तुको मूल्य बढी हुने भएकाले कतिपय सामानहरुको अवैध आयात हुने गरेको व्यवसायीहरुले बताएका छन् ।
त्यसैलेपनि भन्सार दर, राजस्व, मूल्य अभिवृद्धि करलगायतका करका दरहरुमा सुधार आवश्यक रहेको तर्क व्यवसायीहरुको छ ।
प्रतिक्रिया दिनुहोस्