१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


व्यवसायी, मजदुर संगठन र लोत्सेबीच सहमति


0
Shares

काठमाडौं, कात्तिक २६ । नेपाल यातायात व्यवसायी महासंघ, लोत्से बहुउद्देश्यीय प्रालि र तीनओटा मजदुर संगठनबीच नयाँ बसपार्कमा सञ्चालित बुकिङ काउन्टरलाई प्रविधिमैत्री बनाएर अगाडि बढ्ने सहमति भएको छ ।

आवश्यक मापदन्डको आधारमा प्रविधि जडान गरी टिकट बुकिङ गर्ने तथा यातायात कम्पनीहरुले आफ्ना कर्मचारी तथा श्रमिकहरुलाई तालिमको व्यवस्था गर्दै सुरुआती समयलाई गणना गरी काममा निरन्तरता दिने व्यवस्था गर्ने सहमति पनि उनीहरुबीच भएको छ ।

कुनै श्रमिकले स्वेच्छिक अवकाशमा जान चाहेमा श्रम ऐन तथा कम्पनीको कर्मचारी नियमावलीअनुसार सेवा–सुविधा सम्बन्धित प्रालिहरुले दिने सहमति भएको छ ।

यस्तै, यातायात प्रालिहरुले आफ्नो प्रालिको पहिचानसहितको संकेतबोर्ड राख्ने र दक्ष श्रमिकहरुबाट सेवा प्रदान गर्न आवश्यक व्यवस्था लोत्से सहकारीले गर्ने सहमति भएको छ ।

बसपार्कभित्र झैझगडा गर्ने, डर–धम्की दिने, कुटपिट गर्ने, बोर्ड च्यात्ने कार्य अबउप्रान्त कोही-कसैले नगर्ने/नगराउने सहमतिपत्रमा उल्लेख छ ।

यसैगरी, बसपार्कभित्र श्रमिकहरुका लागि खानेपानी, शौचालय र सूचना पाटीसहितको विश्रामगृहको व्यवस्थापन गर्ने, बसपार्कमा यातायात सञ्चालन, परिचालन व्यवस्थापन तथा समस्या समाधानका लागि लोत्से, महासंघ र तीनओटै मजदुर संगठनहरु सम्मिलित तहगत कार्यदल बनाउने पनि सहमति भएको छ ।

यस्तै, गोंगबु, नयाँ बसपार्कमा यातायत सेवा सञ्चालन तथा व्यवस्थापनमा कुनै समस्या आइपरेमा संयुक्त कार्यदलले सम्बोधन गर्ने सहमति पनि बनेको छ ।