
संखुवासभा, कात्तिक २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजना सम्पन्न भएपछि मुलुकको समृद्धिमा टेवा पुग्ने बताउनुभएको छ ।
बुधबार संखुवासभास्थित अरुण तेस्रो जलविद्युत् आयोजनास्थलको अनुगमनपछि फ्याक्सिन्दा दोभानमा आयोजित कार्यक्रममा उहाँले मुलुकको विकासका लागि अरुण तेस्रो परियोजना सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले त्रिदेशीय राजमार्गको रुपमा रहेको उत्तर–दक्षिण कोसी राजमार्गले चीन, भारत र नेपाललाई अन्तरदेशीय व्यापारसँग जोड्ने बताउनुभयो ।
सडक सञ्चालनपछि नेपालले आर्थिक क्षेत्रमा गति लिने उहाँको भनाइ थियो ।
उहाँले किमाथांका नाकासम्म सडक निर्माण गर्न सरकारले तीव्रगतिमा काम गरिरहेको जानकारी दिनुभयो ।
अर्को एक प्रसंगमा प्रधानमन्त्री ओलीले आफू जननिर्वाचित प्रधानमन्त्री भएकाले पूरै कार्यकाल काम गर्ने प्रष्ट पार्नुभयो ।
नेपाली जनताको समृद्धिको चाहनालाई आझेलमा पर्ने नदिने उहाँको प्रतिबद्धता थियो ।
अरुण तेस्रो परियोजनाका कार्यकारी अधिकृत अरुण धिमनले वि.सं. २०८१ सालमा सम्पन्न हुने लक्ष्यका साथ निर्माणकार्य अघि बढिरहेको परियोजनाको ४० प्रतिशतभन्दा काम सकिएको जानकारी दिनुभयो ।
कार्यक्रममा संखुवासभाका स्थानीय तहका जनप्रतिनिधिले आफ्नो पालिकाको विकास निर्माणका लागि मागपत्र बुझाएका थिए ।
त्यसअघि, प्रधानमन्त्री ओलीले किमाथांका नाका, बोर्डर आउट पोस्ट र निर्माणाधीन राजमार्गाको अवलोकन गर्नुभएको हो ।
प्रधानमन्त्रीसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राई, विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङलगायत उच्च अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्