
वासिङटन, कात्तिक २७ । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडेनले आफ्नो प्रमुख प्रबन्धक (चिफ अफ स्टाफ)का रुपमा रोन क्लाइनलाई मनोनयन गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको दैनिक कार्यसूची व्यवस्थित गर्ने महत्वपूर्ण जिम्मेवारीमा बाइडेनले लामो समयदेखि सल्लाहकारका रुपमा कार्यरत् रोन क्लाइनलाई छनोट गर्नुभएको हो ।
रोन क्लाइनलाई ह्वाइट हाउसको कार्यव्यवस्थाबारे निकै लामो अनुभव छ ।
क्लाइनले सन् २०१४ मा इबोला सम्बोधनसम्बन्धी ह्वाइट हाउसमा संयोजकको भूमिका पनि निर्वाह गर्नुभएको थियो ।
तर, यसपटक कोरोनाभाइरसको महामारी विश्वव्यापीरुपमा फैलिएको र यसबाट अमेरिका सर्वाधिक प्रभावित रहेको अवस्थामा क्लाइनले ह्वाइट हाउसमा महत्वपूर्ण जिम्मेवारी पाउनुभएको छ ।
विभक्त अमेरिकी राजनीति र सिनेटमा डेमोक्रेट अल्पमतमा परेको अवस्थामा सबै पक्षबीच सन्तुलन कायम गरी जल्दाबल्दा समस्या सुल्झाउनुपर्ने चुनौती छ ।
बाइडेनले अहिले अमेरिकी समाजमा उत्पन्न संकटको घडीमा क्लाइनजस्ता अनुभवी र क्षमतावान् व्यक्तिले सबै पक्षबीच सन्तुलन कायम गरी कार्य गर्न सफलता प्राप्त गर्ने विश्वास गर्नुभएको छ ।
तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको पहिलो कार्यकालको समयमा क्लाइनले बाइडेनको प्रमुख प्रबन्धक (चिफ अफ स्टाफ)का रुपमा सेवा गर्नुभएको थियो ।
सन् १९९० को मध्यतिर तत्कालीन उपराष्ट्रपति अल गोरको पनि उहाँ प्रमुख प्रबन्धक हुनुहुन्थ्यो ।
पछिल्लो समय बाइडेनको चुनावी अभियानका उहाँ प्रमुख सल्लाहकारमध्ये एक हुनुहुन्थ्यो ।
सन् १९८७ को डेमोक्रेट पार्टीका तर्फबाट राष्ट्रपतीय अभियानको समयदेखि नै बाइडेनसँग निकट रहेर क्लाइनले काम गर्नुभएको छ ।
क्लाइनको नियुक्तिले बाइडेन प्रशासनले काम थालेलगत्तै कोरोनाभाइरस संक्रमण रोक्नेतर्फ प्रमुखरुपमा ध्यानकेन्द्रित गर्ने सम्भावना देखाएको छ ।
क्लाइनलाई जनस्वास्थ्यका साथै ह्वाइट हाउसका लागि इबोला नियन्त्रण टोलीको संयोजक भएर काम गरेको अनुभव छ ।
उहाँले सन् २००९ मा ओबामा प्रशासनको आर्थिक पुनरुत्थान योजना निर्माण र कार्यान्वयनमा पनि केन्द्रीय भूमिका निर्वाह गर्नुभएको थियो ।
आफ्नो नियुक्तिको समाचार सार्वजनिक भएलगत्तै क्लाइनले ट्वीट गर्दै राष्ट्रपति–निर्वाचित बाइडेनले आफूमाथि देखाउनुभएको भरोसाका लागि कृतज्ञता व्यक्त गर्नुभएको छ ।
उक्त पदका लागि स्टिभ रिचेट्टी वा ब्रुस रीडको नाम पनि चर्चामा थियो ।
प्रतिक्रिया दिनुहोस्