१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘कन्ट्याक्ट ट्रेसिङ’ र परीक्षणको दायरा बढाउनुपर्छ’


0
Shares

काठमाडौं, कात्तिक २७ । काठमाडौं उपत्यकामा कोरोना संक्रमणले भयावह रुप लिएको छ । संक्रमणको नियन्त्रण बाहिर जाँदै गर्दा उपत्यका मेयर फोरमले भने उपत्यकामा फेरि ‘लकडाउन’ गर्न सुझाव दिएको छ ।

देशभर कोरोना संक्रमितको संख्या दुई लाख नाघिसकेको छ । ९२ हजार बढी काठमाडौं उपत्यकामा मात्र छन् ।

देशभर रहेका सक्रिय संक्रमितमध्ये ५३ प्रतिशत बढी उपत्यकामा नै छन् । कोरोनाका कारण ११ सय बढीको मृत्यु भएकोमा ४४० जना उपत्यकाकै छन् ।

उपत्यकामा कोरोना संक्रमण नियन्त्रण बाहिर गइसकेको स्वयं सरकारी अधिकारीहरुले स्वीकारेका छन् । संक्रमणको पारो उकालो लागेको लाग्यै छ भने मृत्यु हुनेको संख्या पनि बढिरहेको छ ।

यस्तो अवस्थामा संक्रमण नियन्त्रण र रोकथामको प्रभावकारी कदम नचाल्ने हो भने स्थिति भयावह हुने सरोकारवाला निकायहरुले नै बताएका छन् ।

उपत्यका मेयर फोरमले उपत्यकामा बढ्दै गइरहेको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि फेरिपनि बन्दाबन्दीकै विकल्प अघि सारेको छ ।

फोरमले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र निर्देशक समितिलाई संक्रमण नियन्त्रणको लागि छठपछि बन्दाबन्दी गर्न सुझाव दिएको छ ।

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे भने संक्रमण नियन्त्रण तथा रोकथामको लागि ‘कन्ट्याक्ट ट्रेसिङ’ र परीक्षणको दायरा बढाउनुपर्नेमा जोड दिनुहुन्छ ।

सरकारले संक्रमण रोकथाम तथा नियन्त्रणको लागि पहिलोपटक गत चैत ११ गतेदेखि बन्दाबन्दी ग¥यो । बन्दाबन्दीको अवधिमा महामारीसँग लड्न आवश्यक तयारी गर्नुपर्नेमा जनतासँगै सरकार पनि थुनिएर बसेको आरोप लाग्यो ।

१२० दिन लामो बन्दाबन्दी अन्त्यपछि संक्रमणको ग्राफ झन् उकालो लाग्दा भदौ महिनामा फेरि निषेधज्ञा जारी गरियो ।

निषेधज्ञाको अवधिमा भने आन्तरिक किचलोमा अल्झिँदा संक्रमण रोकथाम न त सरकारको प्राथमिकतामा पर्‍यो, न त स्वास्थ्य पूर्वाधार विकास र महामारीसँग लड्ने रणनीतिक योजना बनाउनेतर्फ नै चासो दियो ।

संक्रमण नियन्त्रण र रोकथामका रणनीतिहरु प्रभावकारी नबन्दा र आममानिसले पनि हेलचेक्र्याईं र आवश्यक सुरक्षा सावधानी नपनाउँदा संक्रमण भयावह बन्दै गएको छ ।

यसैलेपनि संक्रमण नियन्त्रणका लागि फेरिपनि पूरानै रणनीति अपनाउनेभन्दा पनि सबैलाई साथमा लिएर अघि बढ्ने व्यावहारिक योजना कार्यान्वयन गर्नेतर्फ सरोकारवाला निकायले ध्यान दिनु आवश्यक देखिन्छ ।

भिडियो हेर्नुहोस्