१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राजदूतमा सिफारिस तीनजनाको नाम अनुमोदन, ‘एमसीसी’मा सहजीकरण गर्छु : खतिवडा


0
Shares

काठमाडौं, कात्तिक २७ । संसदीय सुनुवाइ समितिले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि राजदूतमा सिफारिस तीनजनाको नाम अनुमोदन गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले अमेरिकाको लागि डा. युवराज खतिवडा, बेलायतको लागि लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाको लागि राजदूतमा सिफारिस डा. निर्मलकुमार विश्वकर्माको नाम अनुमोदन गरेको हो ।

समितिको बैठकमा सदस्यहरुले राखेको जिज्ञासाको जवाफ दिँदै अमेरिकाका लागि राजदूतमा सिफारिस हुनुभएका पूर्वअर्थमन्त्रीसमेत रहनुभएका डा. खतिवडाले बहुचर्चित अमेरिकी सहयोग परियोजना ‘एमसीसी’मा सहजीकरण गर्ने बताउनुभयो ।

उहाँले आफूले अर्थमन्त्री रहेको बेला एमसीसी पारित गर्न खोजेको भएपनि अब आफ्नो भूमिका फेरिएको बताउनुभयो ।

डा. खतिवडाले अमेरिकासँग नेपालको दुईपक्षीय र बहुपक्षीय आर्थिक कूटनीतिमा जोड दिने बताउनुभयो ।

डा. खतिवडाले आफूले मागेर नभइ योग्यता र क्षमताको आधारमा सार्वजनिक पदमा नियुक्ति पाएको जिकिर गर्नुभयो ।

यस्तै, बेलायतका लागि राजदूतमा सिफारिस रेग्मीले समितिका सदस्यहरुले राखेको जिज्ञासाको जवाफ दिँदै सरकारले आफूलाई संविधान र कानुनअनुसार नै राजदूतमा सिफारिस गरेको भन्दै राजदूत बन्न कुनैपनि गलत काम नगरेको जिकिर गर्नुभयो ।

उहाँले सार्वजनिक पदमा रहेका बेला आफूले कुनै अनियमितता नगरेको जिकिर गर्दै शंका लागेमा राज्यका जुनसुकै निकायले पनि छानबिन गर्नेसक्ने बताउनुभयो ।

सरकारले गएको असोज १५ गते अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका राजदूतका लागि क्रमशः डा. खतिवडा, रेग्मी र डा. विश्वकर्माको नाम सिफारिस गरेको थियो । समितिले अनुमोदन गरेसँगै राष्ट्रपतिले राजदूतमा नियुक्त गर्नुहुनेछ ।

प्रधानमन्त्रीलाई बोलाउनुपर्ने माग
यसैबीच, समितिको बैठकमा नेपाली कांग्रेसका सांसद एवं समिति सदस्य भीमसेनदास प्रधानले राजदूतलगायत अन्य सरकारी नियुक्तिहरु संविधानको भावनाअनुसार हुन नसकेको भन्दै समितिमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाउनुपर्ने माग गर्नुभएको छ ।

उहाँले संविधानविपरीत एकपछि अर्को नियुक्तिका निर्णय भइरहेको भन्दै आपत्ति जनाउनुभयो ।

सांसद प्रधानले माग राखेपछि समितिले अर्को बैठकमा प्रधानमन्त्री ओलीलाई समितिमा बोलाउने भएको छ ।