
काठमाडौं, कात्तिक २७ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक क्षेत्र बलियो भएमात्रै राजनीतिक क्षेत्र पनि बलियो हुने बताउनुभएको छ ।
निर्यात व्यवसायी महासंघ नेपालका प्रतिनिधिहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले राजनीतिक क्षेत्रमा प्राप्त उपलब्धिहरुको भविष्य आर्थिक क्षेत्रसँग जोडिएको बताउनुभयो ।
रोजगारी सिर्जना र उत्पादनमा वृद्धि गरी आर्थिक क्षेत्र सबल र शक्तिशाली बनाउनु अहिलेको साझा विषय भएको उल्लेख गर्दै उहाँले राजनीतिक उपलब्धिहरुमा मात्रै गौरव नगरी उत्पादनमा वृद्धि, रोजगारीका अवसर सिर्जना गरी सुदृढ अर्थतन्त्र निर्माण गर्नुपर्ने बताउनुभयो ।
सरकार र निजी क्षेत्र एउटै डुंगाका यात्री हुन् भन्ने मान्यताका साथ अगाडि बढ्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।
महासंघले उत्पादन वृद्धिका लागि जमिन, भूमि भाडामा ल्याउन छुट्टै कानुन ल्याउनुपर्ने माग गरेको छ ।
यस्तै, वन क्षेत्र, प्रयोगविहीन सरकारी जग्गाहरुको उपभोगका लागि लिन कानुनको आवश्यकता रहेको पनि महासंघले बताएको छ ।
निर्यातजन्य उद्योगलाई निर्यातमा पुनर्कर्जा दिने स्पष्ट भएपनि व्यवसायीहरुले सुविधा नपाएको गुनासो गरेका छन् । पुनर्कर्जाको समयावधि पनि थप गरी तीन वर्ष गरिनुपर्ने महासंघको माग छ ।
निर्यात उद्योगका लागि ल्याइने कच्चापदार्थ पश्मिना, धागोमा भन्सार दस्तुर १ प्रतिशत शुल्क गरिएकोमा सोअनुसार भन्सार महसुल उद्योगहरुले सुविधा पाएको र ट्रेडिङ हाउसलाई पनि सोहीअनुसार कायम गर्नुपर्नेलगायत मागसहितको पत्र महासंघले अर्थमन्त्रीलाई बुझाएको छ ।
प्रतिक्रिया दिनुहोस्