१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नयाँ काम गर्न चाहनेलाई सरकारले १० लाख देखि एक करोडसम्म ऋण लगानी गरिदिने


13
Shares

काठमाडौं । सरकारले नवप्रवर्तनकारी काम सुरु गर्न चाहनेलाई ऋण लगानी गरिदिने भएको छ ।

नवीनतम सोच, ज्ञान, सीप र क्षमताको प्रवद्र्धन गर्न राज्यले नवप्रवर्तनकारी काम सुरु गर्ने व्यक्ति तथा संस्थालाई सुरुवाती पुँजी ऋण अनुदानमा दिने भएको हो ।

सरकारले अघिल्लो आर्थिक वर्षको बजेटमार्फत नवप्रवर्तनकारी काम सुरु गर्नेलाई अनुदानका रूपमा सुरुवाती पुँजी दिने घोषणा गरेको थियो ।

तर, अघिल्लो वर्ष उक्त कार्यक्रम कार्यान्वयन हुन सकेन । चालू आर्थिक वर्षबाट भने सरकारले सुरुवाती पुँजी अनुदानमा नभई सहुलियत ऋणमा दिने घोषणा गरेको छ  ।

बजेटमा भएको सोही व्यवस्थाअनुसार नयाँ आविष्कारको काम गर्ने व्यक्ति, कम्पनी तथा संस्थालाई ऋण लगानी गरिदिने भएको योजना आयोगले जनाएको छ ।

नवीनतम सोच, ज्ञान, सीप र क्षमता भएका आविष्कारकर्ता, उद्यमी, व्यवसायी व्यक्ति वा संस्थालाई त्यस्तो उद्यम तथा व्यवसाय सञ्चालन गर्नका लागि सुरुवाती पुँजीका रूपमा ऋण अनुदान उपलब्ध गराइने राष्ट्रिय योजना आयोगले जनाएको छ ।

अहिलेलाई १० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको योजनामा लगानी गरिदिने आयोगको भनाइ छ । यस्तो ऋण अनुदान २ प्रतिशत ब्याजदरको हुनेछ ।

विज्ञान प्रविधि, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग–वाणिज्यलगायत ८ वटा क्षेत्र तोकिएको छ । यी क्षेत्रमा अविष्कार गर्नेलाई सरकारले पुँजी दिने हो ।

काम सुरु हुँदै जाँदा तीन किस्तामा उपलब्ध गराइने यस्तो ऋण सम्बन्धित व्यक्ति वा संस्थाले साढे ४ वर्षभित्र तिरिसक्नुपर्ने छ ।

यसैबीच आयोगले गत वैशाख २९ मा नवप्रवर्तन सुरुवाती पुँजी अनुदान प्रदान गर्न प्रस्ताव आह्वान गरेको थियो । त्यसमा करिब ७ सयवटा आवेदन परेका थिए ।

तर, कोरोनाले अर्थतन्त्रमा परेको असरको कारण कार्यक्रम कार्यान्वयन नसकिएको आयोगले जनाएको छ ।

त्यसपछि चालू आर्थिक वर्षको बजेटले अनुदान नभई ऋण अनुदान दिने भएपछि आयोगले नयाँ कार्यविधि बनाएको छ ।

जसअनुसार आवेदन गर्न असोज मसान्तसम्मको म्याद दिइएको थियो । अर्थमन्त्री विष्णु पौडेलले यही कात्तिक ६ गते निर्णय गर्दै आवेदन दिने म्याद कात्तिक मसान्तसम्मलाई थप गर्नुभएको छ ।