२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बैतडीको खोड्पेमा बस दुर्घटना, नौ जनाको मृत्यु, ३४ घाइते


0
Shares

बैतडी । बैतडीको खोड्पेमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । गएराति १० बजे भएको दुर्घटनामा अरु ३४ जना घाइते भएका छन् ।

बैतडी र दार्चुलाको सीमा क्षेत्र गन्नादेखि कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस भीरबाट खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

मृत्यु हुनेमा बैतडीको दोगडाकेदार ६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार ६ सित्तडकै २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी, कञ्चनपुरको भिमदत्त नगरपालिका ८ तिलाचौरका १५ वर्षीया कृतिका कार्की र दार्चुलाको लेकम गाउँपालिका ४ का तर्कराज गिरी रहेका छन् ।

यसैगरी, दार्चुलाको मालिकार्जुन गाउँपालिका ५ का जगन्नाथ ओझा, कञ्चनपुरको भीमदत्त नगरपालिका १० विजना धामी, कैलालीको धनगढी उपमहानगरपालिका ४ का नरेन्द्र चौधरी, धनगढी उपमहानगरपालिका १८ का ऋषिराम चौधरीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएका सात जनाको धनगढीमा र बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

साँघुरो सडकमा रहेको सानो घुम्तीबाट बस ६०० मिटर तल खसेको प्रहरीले जनाएको छ । मृतकमध्ये सात जना पुरुष र दुई जना महिला छन् ।

प्रहरी र स्थानीयबासी मिलेर राति नै घटनास्थलबाट घाइतेहरुको उद्धार गरिएको थियो । बस बैतडीको दोगडाकेदार–७ खोचलेकका वीरेन्द्र कार्कीको रहेको बताइएको छ ।

बसधनी आफैं चालक रहेका र उनीसमेत घाइते भएको प्रहरीले जनाएको छ ।