१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


जब प्रहरीले नम्वर नलेखेका सवारीलाइ कारवाही गर्दै ‘स्पर्ट’मै नम्वर प्लेट लेख्न लगाए


0
Shares

झापा । झापामा सवारी चेक जाँचमा कडाई गरीएको छ ।

पछिल्लो समय नम्बर नलेखिएका सवारी साधन दुर्घटना हुने संख्या बढ्दै गएपछि ट्राफिक प्रहरी कार्यालय झापाले चेकपोष्ट खडा गरेर सवारी साधन चेकजाँच र कारवाही अभियान सुरु गरेको हो ।

पूर्व–पश्चिम राजमार्गमा दुई पाङ्ग्रे साना सवारीको चाप बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र यातायात व्यवस्था कार्यालय मेचीले सवारी जाँचलाई कडाई गरेको छ ।

विशेष गरी नम्बर नलेखेका सवारीले दुर्घटना गराएपछि पक्राउ गर्न समस्या हुने भन्दै ट्राफिक प्रहरीले यातायात व्यवस्था कार्यालयसंग समन्वय गर्दै सवारी जाँचलाई कडाई गरेको हो ।

ट्राफिक प्रहरीले राजमार्गका विभिन्न ठाउँमा चेकपोष्ट राखेर नम्वर नलेखेका सवारीलाई कारवाही गर्दै स्पर्टमै नम्वर प्लेट लेख्न लगाउन थालेको छ ।

कोभिडको महामारीका बीच पनि ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि भन्दै अभियान स्वरुप सवारी चेकजाँचलाई अघि बढाएको हो ।

अभियान सञ्चालनकै दिन एक सय ५० भन्दा बढी सवारी साधनको नम्वर प्लेट लेख्ने काम भएको छ ।

यातायात व्यवस्था कार्यालय मेचीका प्रमुख कृष्णचन्द्र पौडेलले यो अभियानलाई जिल्ला भर सञ्चालन गर्ने र सवारी चेक जाँचलाई कडाई गर्दै लगिने बताउनुभएको छ ।

यो महिना मात्रै १६७ वुलेट र आवाज ठूलो निकाल्ने मोटरसाइकललाई समेत ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

यातायात कार्यालय संग सहकार्य गर्दै ट्राफिक प्रहरीले जिल्लाका विभिन्न ठाउँमा चेकपोष्ट खडा गर्दै सवारी जाँच तीव्र पारेपछि चोरीका सवारी समेत धमाधम पक्राउ पर्न थालेका छन् ।

पक्राउ परेका सवारी साधन सम्वन्धित धनीलाई हस्तान्तरण गरिँदै आएको छ ।