१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पदमार्गको खोजीमा रसुवाली


0
Shares

रसुवा, कात्तिक २८ । वाग्मती प्रदेश पर्यटकीय पदयात्राका लागि उत्कृष्ट गन्तव्य मानिन्छ । त्यसमा पनि रसुवाको मनमोहकताले त पदयात्राको लागि पर्यटकहरुलाई मोहित बनाउने गरेको छ ।

रसुवाको उत्तरी क्षेत्रमा रहेको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर–३ का बासिन्दाहरु गाउँमा आउने पर्यटकहरुको बसाइ लम्ब्याउन आफ्नो क्षेत्रमा रहेको पर्यटकीय पदमार्गको खोजीमा भौंतारिन थालेका छन् ।

सम्भावित पर्यटकीय क्षेत्रहरु, पदमार्गको अवस्था, पर्यटकहरुका लागि बसाइ, पिउनेपानीलगायतका पूर्वाधारहरुको अवस्थाबारे जानकारी लिइ पदमार्ग विस्तार गर्दै पर्यटकहरुको बसाइ लम्ब्याउन स्थानीय पर्यटन व्यवसायीहरु जुटेका छन् ।

गाउँका जनप्रतिनिधि, होमस्टे सञ्चालक तथा गोसाइँकुण्ड गाउँपालिकाका कर्मचारीसहितको टिमले झन्डै चार हजार ६५० मिटरको उचाइमा रहेको रिभरकुण्ड क्षेत्रको सम्भावित पर्यटकीय पदमार्गको अवस्थाको बारेमा अध्ययन गरेर नयाँ पदमार्गको ढोका खोलेको छ ।

पर्यटकीय पदमार्गको सुधार तथा आवश्यक पूर्वाधारको विकास गरेमा पाँचदेखि छ दिनसम्मको यात्राका लागि पदमार्ग निमार्ण गर्न सकिने गोसाइँकुण्ड गाउँपालिकाका इन्जिनियर मुकुन्द अवस्थीको भनाइ छ ।

विभिन्न पर्यटकीयस्थलहरु आन्तरिक तथा विदेशी पर्यटकको रोजाइ भएपनि पर्याप्त आवश्यक पूर्वाधार नभएका कारण ती स्थलहरुमा पुगेका पर्यटकहरु पनि चाँडै नै फर्किने गरेकाले यो क्षेत्रमा पुगेपछि हिमली दृश्य, लोपोन्मुख जडीबुटी, वनस्पति, विभिन्न प्रजातिका चराहरु साथै वन्यजन्तुहरुसमेत अवलोकन गर्न सकिने भएकाले यस क्षेत्रले पर्यटकहरुको मन लोभ्याउने गरेको छ ।

नेपालमै दोस्रो होमस्टे सञ्चालनमा रहेको बृद्धिम गाउँ, त्यसमाथि तामाङ सम्पदामार्गमा लामो समयदेखि पर्यटकहरुको चहल–पहल भएपनि पर्यटकहरुको बसाइ लम्ब्याउन नसकिरहेको अवस्थामा प्रदेश सरकारको सहयोग पाएमा नयाँ पर्यटकीय पदमार्गको विस्तारले पर्यटकहरुको बसाइँ लम्बिने देखिन्छ ।

विश्वव्यापीरुपमा फैलिएको कोरोनाभाइरसका कारण शून्य अवस्थामा पुगेको पर्यटन व्यवसाय कोरोनाभाइरसको अन्त्यसँगै पुरानै अवस्थमा फर्कनेमा व्यवसायीहरु ढुक्क छन् ।

पदमार्गको खोजी र पदमार्ग विस्तारसँगै प्रदेश सरकारको पर्यटन पूर्वाधार विकासमा सहयोग र प्रचार–प्रसारले यस क्षेत्रको पर्यटन व्यवसायमा थप बल मिल्ने भएकाले पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् ।

भिडियो हेर्नुहोस्