
चितवन, कात्तिक २८ । चितवनमा कोरोना संक्रमितको मृत्युदर २ प्रतिशत पुगेको छ ।
स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार हरेक १०० संक्रमितमा दुईजनाको मृत्यु हुने गरेको हो ।
जिल्लामा हालसम्म ७९ जना संक्रमितको मृत्यु भएको छ ।
सात स्थानीय तहमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका संक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिकामा ४६ जना, खैरहनी नगरपालिकामा नौजना, रत्ननगर नगरपालिकामा १० जना, राप्ती नगरपालिकामा आठजना, कालिका नगरपालिकामा छजनाको मृत्यु भएको हो ।
जिल्लाका माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा भने मृत्युदर शून्य रहेको छ ।
जेठ महिनादेखि संक्रमितको मृत्यु हुन थालेको जिल्लामा सबैभन्दा धेरै कात्तिक महिनामा ४० जना संक्रमितको मृत्यु भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्