
काठमाडौं, कात्तिक २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गर्ने प्रतिबद्धता भए पार्टीभित्र देखिएको समस्या समाधान हुने बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेपछि पत्रकारहरुसँग कुराकानी गर्दै वरिष्ठ नेता नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गरे समस्याको समाधान आफैं हुने बताउनुभएको हो ।
त्यसका लागि पार्टी कमिटीको बैठक निरन्तर राखी छलफल, बहस र वादविवाद गर्नुपर्ने उहाँले बताउनुभयो ।
बहसबाट भाग्ने, बैठकबाट भाग्ने र कमिटी प्रणालीबाट भाग्ने भएमा समस्याको समाधान हुन नसक्ने पनि वरिष्ठ नेता नेपालले बताउनुभयो ।
उहाँले भन्नुभयो–‘पार्टी कमिटी नै एउटा ठाउँ हो, जहाँ सबैखालका कुराहरु आउँछन्, आउनुपर्छ । छलफल, बहसबाट नै उपाय खोज्नुपर्छ । किनभने, हामीले आन्दोलनलाई र यो पार्टीलाई एकताबद्ध भएर अगाडि बढाउनुपर्छ । एकताबद्ध भएर अगाडि बढाउन हामी सबै अनुशासनमा बाँधिनुपर्छ । अनुशासनमा बाँधिने हो भने, आफ्नो–आफ्नो ठाउँमा सशक्त र प्रभावकारी भूमिका खेल्ने हो भने, भएका कमी–कमजोरीलाई सुधार्ने हो भने त्यसपछि यो आन्दोलन अगाडि बढ्छ । पार्टी अगाडि बढ्छ । विगतमा पनि छलफल, बहस, वादविवाद हुँदै आएका छन् । छलफल, बहसबाट भाग्नेपनि होइन, बैठकबाट भाग्नेपनि होइन, कमिटी प्रणालीबाट भाग्नेपनि होइन, एक्लै बन्नेपनि होइन । पार्टीको सामूहिक नेतृत्वलाई पार्टीको निर्णयलाई स्वीकार गर्ने सबैमा प्रतिबद्धता चाहिन्छ ।’
पार्टीलाई एकताबद्ध भएर अगाडि बढाउन सबै नेता–कार्यकर्ता अनुशासनमा बाँधिनुपर्ने पनि वरिष्ठ नेता नेपालले बताउनुभयो ।
पार्टीको अनुशासनमा बाँधिने, आ–आफ्नो ठाउँबाट सशक्त र प्रभावकारी भूमिका खेल्ने र कमी–कमजोरीहरुलाई सुधारेमा कम्युनिस्ट आन्दोलन र पार्टी एकतालाई बचाउन सकिने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्