
काठमाडौं, कात्तिक २८ । चिनियाँ आधिकारिक मुखपत्र ‘ग्लोबल टाइम्स’मा नेपाली कांग्रेसलाई ‘भारतीय पार्टी’ भनेर लेखेको भन्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले निन्दा गरेको छ ।
शुक्रबार बसेको बैठकका निर्णयहरु सुनाउँदै कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले चिनियाँ आधिकारिक मुखपत्र ग्लोबल टाइम्सले हुम्लाको सिमाना सम्बन्धमा आएको प्रतिवेदनलाई लिएर कांग्रेसलाई भारतीय पार्टीको संज्ञा दिएकाले बैठकले निन्दा गरेको बताउनुभयो ।
उहाँले कांग्रेस पार्टी चीन सरकारसँग राम्रो सम्बन्ध राख्दै आएको र उच्च महत्व दिएको तर राष्ट्रिय स्वाभिमान, राष्ट्रिय अखन्डताकाप्रति समर्पित भएको र चीनमात्र नभएर जुनसुकै देशसँगको सम्बन्धमा समस्या देखिए बोल्ने बताउनुभयो ।
यो विषयमा दुई देशका संयुक्त टोलीले ऐतिहासिक तथ्यहरु, भोगचलनको तथ्यहरु, सीमास्तम्भको स्थिति सबैको मूल्यांकन गरेर निर्क्योलमा पुग्न सरकारको ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो ।
बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट एकता प्रक्रियामार्फत् आउनुभएका सुनीलबहादुर थापालगायतसँग भएको समझदारीअनुसार सहमहामन्त्री एवं केन्द्रीय सदस्यलगायतका पदहरु दिने निर्णय पनि गरेको छ । योसँगै सुनीलबहादुर थापा कांग्रेसको सहमहामन्त्री बन्नुभएको छ ।
यस्तै, कोभिड–१९ संक्रमणका कारण देश आक्रान्त भएको अवस्थामा पनि सरकार बेखबर देखिएको र आफ्नो जिम्मेवारी निर्वाह नगरेको भन्दै जनताको उपचारको हकलाई नजरअन्दाज नगर्न बैठकले माग गरेको छ ।
कृत्रिम अभाव, महँगी, कोभिड संक्रमणबाट जनता आक्रान्त भएको अवस्थामा जिम्मेवार बन्न सरकारसँग माग गरिएको पनि सहमहामन्त्री महतले बताउनुभयो ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा देखिएका समस्याहरुमा सैद्धान्तिक सहमति भएको बताउनुभयो ।
पार्टीलाई विधिसम्मत्, विधानको पद्धतिका आधारमा क्रियाशील सदस्य वितरण गर्ने सहमति भएको पनि उहाँले बताउनुभयो ।
तिहारलगत्तै कार्यसमिति बैठक बसेर सबै मुद्दाहरुमा छिनोफानो गर्ने कुरामा सहमति भएको पनि वरिष्ठ नेता पौडेलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्