१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


खेलकुद गतिविधि सञ्चालन गर्न सरकारको अनुमतिसँगै खेलाडी उत्साहित


0
Shares

काठमाडौं, कात्तिक २८ । सरकारले सुरक्षा मापदण्ड अपनाउँदै खेलकुद गतिविधि सञ्चालन गर्न अनुमति दिएसँगै खेलाडी उत्साहित भएका छन् ।

बिहीबारको मन्त्रिपरिषद्ले सुरक्षा मापदण्ड अपनाउँदै खेलकुद गतिविधि सञ्चालन गर्न अनुमति दिएको थियो ।

लामो समयको घरेलु अभ्यासमा दिक्क बनेका खेलाडी नियमित अभ्यासमा फर्किएर प्रतियोगितामा सामेल हुन आतुर देखिएका छन् ।

करिब नौ महिना ठप्प बनेको खेलकुदलाई मन्त्रिपरिषद्को पछिल्लो निर्णयले राहत मिलेको छ ।

सुरक्षा मापदण्ड अपनाउँदै खेलमा फर्किन अनुमति दिएपछि खेल पदाधिकारी र खेलाडी उत्साहित भएका छन् ।

शुक्रबार बिहान रंगशाला पुग्दा केही व्यक्तिगत स्पर्धाका खेलाडीले अभ्यास गरिरहेका थिए ।

बक्सिङ प्रशिक्षक तेजबहादुर थापामगरले मन्त्रिपरिषद् निर्णयले आफूहरु खुसी भएको बताउनुभयो ।

उहाँले नै प्रशिक्षण गराइरहेका खेलाडी डोल्मा तामाङले पनि नियमित खेलकुद गतिविधिले खेलकुदमा उत्साह मिलेको र आउँदा दिनमा मेहनत गरेर राष्ट्र र व्यक्तिगतरुपमा सफलता हातपार्ने बताउनुभयो ।

सेमिकभर्डहलमा उसुका खेलाडी पनि अभ्यासमा फर्किन ‘वार्मअप’ गर्दै दिए । सरकारको निर्णयले पुरानो अवस्थामा फर्किनका लागि कुनै संकोच नहुनेमा उनीहरु ढुक्क थिए ।

अभ्यासमा व्यस्तमध्येका दीपक हमालले पुरानो लयमा फर्किन सरकारले खेलाडीका लागि वातावरणदेखि सबै पूर्वाधार व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

यस्तै, राष्ट्रका लागि पदक दिलाएकी निमा घर्तीमगरले पनि ‘लकडाउन’पछि खेलमा फर्किन पाउँदा सबै खेलाडीमा उमंग छाएको बताउनुभयो ।

यी प्रतिनिधि खेलकुद गतिविधिमात्र सञ्चालनमा आएका हुन् । अझै धेरै खेलकुद गतिविधि सञ्चालन हुन बाँकी नै छन् । तर, त्यति सहज अवस्था भने छैन ।

फागुनमा तय भएको नवौं राष्ट्रिय खेलकुद गतिविधिलगायतका अन्य प्रतियोगिता तपशिल नै छन् । त्यसका लागि गर्नुपर्ने तयारीका लागि पनि सरकारले छिट्टै पहल गर्नुपर्ने अवस्था आएको छ ।