
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण आगामी महिनाभित्रमा गरिने भएको छ ।
गत असारमा परीक्षणका क्रममा दुर्घटना भएपछि सुरुङमा रहेका त्रुटि सच्याएर पुनः परीक्षण गर्न लागिएको हो ।
त्रुटि सच्याउने काम सकिन लागेकाले पुनः सुरुङमा पानी पठाएर परीक्षण गर्ने योजना रहेको खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार त्रुटि सच्याउने काम मंसिरको दोस्रो सातासम्म सकिने भारतीय कम्पनीले बताएको छ ।
सुरुङमा पानी पठाएर दुई महिनासम्म परीक्षण गर्नुपर्ने प्रवक्ता शाक्यले जानकारी दिनुभयो । मन्त्रालयले बनाएको कार्यविधिअनुसार थोरै परिमाणमा गरेर पानी पठाइनेछ ।
सुरुङमा पानी भरिएपछि पनि केही दिन ‘होल्ड’ गरेर राखिने उहाँले जानकारी दिनुभयो । सुरुङको अवस्था ठीक भएर सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आएपछि भने उपत्यकामा वितरण सुरु हुने बताइएको छ ।
सुन्दरीजलमा दुई ओटा पानी प्रशोधन केन्द्र रहेका छन् । उपत्यकामा खानेपानी वितरणका लागि आवश्यक संरचना बनिसकेकाले पानी आउनासाथ तत्काल वितरण थालिने मन्त्रालयले जनाएको छ ।
अहिले बागमतीको पानीमार्फत परीक्षण भइसकेको छ । आयोजनाअन्तर्गत सुरुङ, हेडबक्स र दुई पानी प्रशोधन केन्द्र निर्माण भएको हो ।
दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने गरी सुन्दरीजलमा दुई वटा ट्यांकी निर्माण भइसकेको छ । यो प्रशोधन केन्द्र दुवैको क्षमता साढे ८ करोड लिटर रहेको छ ।
तीमध्ये एउटाको निर्माण जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र अर्को एशियन विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा निर्माण भएकोे थियो ।
प्रतिक्रिया दिनुहोस्