
काठमाडौं । हङकङको याउमातेइमा नेपालीले संचालन गरेको रेष्टुरेन्टमा आगलागी हुँदा कम्तिमा सात जना नेपालीको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा एक बालकसहित चार पुरुष र तीन महिला रहेको बताइएको छ । तर मृतकहरू दक्षिण एसियाली मुलका नागरिक रहेको प्रहरीलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।
हङकङको समय अनुसार गएराति ८ बजे भएको आगलागीमा १३ जना गम्भीर घाइतेलाई प्रहरीले उद्धार गरेको थियो ।
घाइतेमध्ये १० वर्षीय बालकसहित सात जनाको उपचारका क्रममा मृत्यु भएको हो । आगलागीमा १७ जना घाइते भएको र तीमध्ये धेरै नेपाली मुलका नागरिक रहेको जनाएको छ ।
हङकङमा यो पछिल्लो एक दशकयता भएको सबैभन्दा ठूलो आगलागी भएको प्रहरीले जनाएको छ । बर्थ डे पार्टी भइरहेको बेला आगलागी भएको बताइएको छ ।
हङकङकी प्रमुख कार्यकारी क्यारी लामले याउमातेइमा आगलागीको घटनाबाट दुखी भएको भन्दै घाइतेको उपचार र घटनाको कारण पत्ता लगाउन निर्देशन दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्