
काठमाडौं । कोरोनाको महामारी बढेसँगै जारी गरिएको निषेधाज्ञाका कारण सात महिनादेखि सबै प्रकारका सवारी चालक अनुपति पत्र लाइसेन्स वितरण ठप्प भएको छ ।
कोरोना नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि जारी गरेको लकडाउनयता लाइसेन्स वितरणको काम हुन सककेको छैन भने नयाँ लाइसेन्सका लागि गरिने परीक्षासमेत हुन सकेको छैन ।
कहिलेदेखि लाइसेन्स वितरण र नयाँ परीक्षा सञ्चालन हुने भन्न अन्योल रहेको छ ।
सरकारले लकडाउन घोषणा गरेको चार महिनापछि सरकारी कार्यालयहरुको सेवा सुचारु भएपनि छापिएका लाइसेन्स वितरण र नयाँ परीक्षा सञ्चालन हुन सकेको छैन ।
यातायात व्यवस्था विभागले प्रदेश महातहतका कार्यालयहरुसँग समन्वय गरेर तिहार लगत्तै लाइसेन्सको प्रक्रिया खुला गर्ने तयारी गरेको छ ।
लाइसेन्स वितरण र नयाँ लाइसेन्सको परीक्षाको विषयमा संघ र प्रदेश सरकारबीच विवाद हुँदै आएको छ ।
यातायात व्यवस्था विभागले नयाँ लाइसेन्स परीक्षा सम्बन्धी निर्णय प्रदेश सरकार तथा प्रदेश महातहतका यातायात कार्यालयहरुले गर्नुपर्ने जनाएको छ ।
प्रदेश सरकार अन्र्तगतका कार्यालयहरुले भने संघीय सरकारकै कारण प्रक्रिया रोकिएको आरोप लगाउँदै आएका छन् ।
विभागले हालसम्म १९ लाख भन्दा बढी लाइसेन्स छपाइ गरिसकेको जनाएको छ । अब लाइसेन्स छपाइको काम १० प्रतिशत मात्र बाँकी रहेको विभागको भनाइ छ ।
हालसम्म २१ लाख स्मार्ट लाइसेन्स माग भएकोमा १९ लाख लाइसेन्स छपाइको काम सकिएको विभागकले जनाएको छ ।
चार महिना लामो लकडाउन खुलेसँगै भदौ पछि राजस्व बुझ्ने, नवीकरण, र भेरिफिकेसन गर्ने समबन्धी सेवाहरु सुचारु भएका थिए ।
तर नयाँ लाइसेन्स वितरण परीक्षा सञ्चालन गर्नेबारे भने अन्योल कायमै छ ।
प्रतिक्रिया दिनुहोस्