
सिन्धुली, साउन ३ । बीपी राजमार्गमा बस र पिकअप बोलेरो एकापसमा ठोक्किँदा सातजना घाइते भएका छन् ।
सुनकोसी गाउँपालिका–३, रातमाटाबजारमा दुई सवारी ठोक्किँदा बसमा सवार चार र बोलेरोमा सवार तीन गरी सातजना घाइते भएका हुन् ।
सिन्धुलीतर्फबाट काठमाडौं जाँदै गरेको सगरमाथा प्रालिको बा३ख २५४० नम्बरको बस र काठमाडौंबाट सर्लाहीका लागि गुडेको ना४त ५२५३ नम्बरको कुखुरा बोक्ने पिकअप बोलेरो एकापसमा ठक्कर खाएको इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीका प्रहरी निरीक्षक अशोक झाले जानकारी दिए ।
दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि धुलिखेलतर्फ लगिएको छ ।
दुर्घटनामा घाइते भएका सिन्धुली, गोलज्नोर गाउँपालिका निवासी पवन ठकुरी र फिक्कल गाउँपालिका निवासी बसका सहचालक उज्ज्वल बरालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
बस र बोलेरो दुवैको तीव्रगतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सडकको घुम्तीमा बसले हायसलाई उछिन्नेक्रममा दुर्घटना भएको स्थानीयवासीले बताएका छन् ।
बीपी राजमार्गमा ठूला सवारी–साधन सन्चालनमा रोक लगाइँदा दुर्घटना कमी भएको थियो । सर्वोच्च अदालतले ठूला सवारी–साधनलाई पनि सन्चालन गर्न पुरानै आदेशलाई गत असार ३१ गतेबाट निरन्तरता दिएपछि दैनिक दुर्घटना दर बढेको छ । रासस
प्रतिक्रिया दिनुहोस्