
काठमाडौं । सरकारले स्थानीय तहहरुलाई अस्पतालको भवन शिलान्यास गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
सरकारले यही मंसिर १५ गते देशभरका तीन सय ९६ वाटा स्थानीय तहमा पाँचदेखि १५ शैयाको अस्पताल संचालनका लागि निर्माण हुने भवन शिलान्यास गर्ने निर्णय गरेको ।
भवन शिलान्यासका लागि व्यवस्था मिलाउन निर्देशन दिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
अर्थमन्त्री विष्णु पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले एकैसाथ सोही दिन स्थानीय तहका अस्पताल भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
सात सय ५३ स्थानीय तहमध्ये ६४९ तहमा अहिलेसम्म अस्पताल नै सञ्चालन भएका छैनन् ।
तीमध्ये पहिलो चरणमा ३९६ स्थानीय तहमा सरकारले अस्पताल बनाउन थालेको मन्त्रालयले स्पष्ट पारेको छ ।
अर्थ मन्त्रालयले पहिलो चरणमा ३९६ स्थानीय तहलाई पाँचदेखि १५ शैयाको अस्पताल बनाउन बजेट विनियोजन गरिसकेको छ ।
यसैगरी मन्त्रालयले पाँच शैयाको अस्पतालका लागि ७० लाख, १० शैयाको लागि ८५ लाख र १५ शैयाको लागि एक करोड पठाइसकेको छ ।
कोरोना भाइरसको रोकथाम र नियन्त्रण तथा स्थानीय तहका स्वास्थ्य संस्था स्तरोन्नतीका लागि सरकारले पाँच शैयादेखि १५ शैयासम्म अस्पताल बनाउन थालेको हो ।
प्रतिक्रिया दिनुहोस्