
सन्दीप पौड्याल (इमेज)
काठमाडौं, साउन १० । नेपाली संगीत क्षेत्रमा महत्वपूर्ण योगदान दिएकी प्राध्यापक तथा गायिका स्व. शोभा तिवारी लोहनीको काव्यकृति ‘आमा ! मेरी आमा’को लोकार्पण भएको छ ।
शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा संस्कृतिविद् डा. तुलसी दिवसको प्रमुख आतिथ्यमा उक्त पुस्तकको लोकार्पण गरियो ।
उनका दुई छोरीहरु ऋचा शर्मा तिवारी, स्मृति थपलिया र छोरा आशिष तिवारीले उनको स्मृतिमा ‘शोभा–अर्जुन संगीतकोष’ गठन गरेका छन् ।
यसै संगीत कोषले शोभा तिवारीद्वारा लिखित कविता संकलन गरी काव्यकृति ‘आमा ! मेरी आमा’ प्रकाशनमा ल्याएको हो ।
पुस्तक लोकार्पण कार्यक्रममा हिरण्यकुमारी पाठक, प्रमोद प्रधान, मञ्जु काँचुली र डा. तुलसी दिवसले स्व. शोभाको संगीत क्षेत्रमा योगदान र काव्यकृतिमाथि चर्चा गरेका थिए ।
कार्यक्रममा ललितकला क्याम्पसका दुईजना विद्यार्थीलाई संगीत कोषको तर्फबाट छात्रवृत्ति प्रदान गरिएको थियो ।
नेपाली लोकगीत–संगीत क्षेत्रकाबारेमा विभिन्न पत्रपत्रिकाहरूमा शोभाका दर्जनौं लेख–रचना प्रकाशित छन् ।
नेपाली लोकसंगीत अध्ययन गर्न चाहनेहरूका लागि उनको ‘संगीतार्पण’ पुस्तक प्रकाशित छ ।
लामो खोज र अनुसन्धानपछि २०६० सालमा साझा प्रकाशनबाट प्रकाशित यो पुस्तक लोकसंगीत विषयमा ‘प्लस टु’ र स्नातक तहमा अध्यापन हुने गरेको छ ।
स्तनको क्यान्सरका कारण उनको २०६६ चैत १६ गते देहावसान भएको थियो ।
नेपाली गीत–संगीत, लोकगीत र लोकजीवनको श्रीवृद्धिमा निरन्तर क्रियाशील रहेर नेपाली लोकगीतको क्षेत्रमा अनवरत नाम हो, शोभा तिवारी लोहनी ।
डिल्लीबजारमा जन्मिएकी उनी २०३६ देखि ललितकला क्याम्पसमा प्राध्यापन गर्न थालेकी थिइन् । २०४२ देखि सहायक प्राध्यापकको जिम्मेवारी पाएकी थिइन् ।
शोभाले २०५१ सालदेखि ललितकला क्याम्पसमै उपप्राध्यापककोरूपमा काम गर्न थालिन् ।
२०५७ मा उनले उक्त क्याम्पसको संगीत शिक्षण विभाग प्रमुखको जिम्मेवारी सम्हालेकी थिइन् । २०५७ सालमा उनी संगीत विषय समितिको अध्यक्षसमेत भएर काम गरिन् ।
उनी २०३२ सालमा तत्कालीन राजा वीरेन्द्र शाहको ३१औं जन्मोत्सवका अवसरमा पद्मकन्या क्याम्पसद्वारा आयोजित अन्तरसदन लोकगीत प्रतियोगिता, २०३३ मा क्याम्पसको रजतजयन्तीका अवसरमा आयोजित अन्तरसदन, २०३४ मा पद्मकन्या क्याम्पसद्वारा आयोजित ६९औं देवकोटा जन्मजयन्तीमा अन्तरसदन समूहिकगानमा पुरस्कृत भएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्