१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


हिमाली र उच्च पहाडी जिल्लामा हिमपात, खोला, पँधेरा र धारामा पानी जम्यो


0
Shares

काठमाडौं । हिमाली र उच्च पहाडी जिल्लाका विभिन्न स्थानमा हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन पनि प्रभावित भएको छ ।

हुम्ला, डोल्पा, मुस्ताङ र उत्तरी गोरखामा हिउँ परेको छ । लुम्बिनी प्रदेशमा पर्ने पूर्वी रुकुमको दुले भन्ने स्थानमा पनि हिमपात भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात हुने जनाएको छ ।

मुस्ताङका जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, छोसेर, कोरला, छोनुप, समजुङ, चुमजुङ, नाम्डो, चराङ, मराङलगायत बस्तीमा हिमपात भएको छ ।

हिमपातसँगै खोला, पँधेरा र धारामा पानी जमेको छ । हिमपात भएसँगै सडकमा सवारी साधन आवतजावत गर्न समस्या भएको छ ।

हिउँले चरन क्षेत्र पुरिएपछि स्थानीयवासीले पशुचौपायालाई गोठमै बाँधेर राख्न थालेका छन् ।