२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


मनमोहक गुफापोखरी : अस्तीत्व नै गुमाउने अवस्थामा(भिडियो)


0
Shares

तेह्रथुम । संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगम स्थलमा रहेको गुफा पोखरी पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको छ ।

यहाँको सौन्दर्यता र देखिने मनमोहक हिमालको दृष्यले गुफापोखरीको सौन्दर्यतामा झनै निखार ल्याएको छ ।

प्राकृतिक सुन्दरतासँगै गुराँसको राजधानी टिएमजेको काखमा रहेको गुफा पोखरी जति मनमोहक र आकर्षक छ त्यति नै संरक्षणको पर्खाइमा रहेको छ ।

पर्यटकीय आकर्षण हुँदाहुँदै पनि अस्तीत्व नै गुमाउने अवस्थामा गुफापोखरी पुगेको छ । पूर्वको पर्यटकीय गन्तब्यहरु मध्ये एक प्रसिद्ध स्थानको रुपमा गुफापोखरी परिचित बन्दै आएको छ ।

खासगरी गुराँस फुल्ने सिजनसँगै चाडपर्बहरुको अवसरमा पर्यटकहरुको चहलपहल बढ्ने गरेको छ । पोखरीमा रहेको पानीको श्रोत नभएकाले हाल यो संकटमा परेको हो ।

मूल सुक्दै गएको र नदी नाला पनि नहुँदा केहि वर्ष यता पानीको सतह र पोखरीको आकार घट्दै गएको छ ।

पछिल्लो समय बाह्रय पर्यटकहरुको संख्यापनि घट्दै गएको स्थानीय फुजुङ शेर्पा बताउनुहुन्छ ।

यहाँ आउने पर्यटकहरु डाँडाकाँडा चढ्दै पोखरीको तस्विर लिने, दृश्यावलोकन गर्ने तथा सेल्फी खिच्न पाउँदा थप रोमाञ्चित हुने गरेकाछन् ।

समुन्द्र सतहदेखि २ हजार ८ सय ९० मिटरको उचाइमा रहेको यो पोखरी निकै मनमोहक देखिने गर्दछ ।

पोखरी आफैंमा सुन्दर भएको कारण पर्यटकहरुलाई आकर्षण गर्न ब्यवस्थापनको खाँचो रहेको पर्यकटकहरुको भनाई छ ।

गुफापोखरीबाट देखिने रमणीय दृष्यावलोकनले जो कोहिलाई मन्त्र मुग्ध त बनाउछ नै टलक्कै टल्कीने हिमालले सबैको मन लोभ्याइ रहेको हुन्छ ।

मानव अतिक्रमणबाट जोगाउन तारबार गरिए पनि संरक्षणको अभाब भएको देखिन्छ ।

पुर्बी नेपालको मुख्य पर्यटकीय गन्तब्यको रुपमा रहेको टीएमजेको काखमा रहेको यो गुफापोखरीको संरक्षणका लागी तिनै तहका सरकारको ध्यान जानु आवश्यक देखिन्छ ।

भिडियो