१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


झापामा भूमाफियाको बिगबिगी: नौ करोड मूल्य पर्ने सात कठ्ठा जमिन हडप्ने प्रयास(भिडियो)


0
Shares

झापा । झापाको बिर्तामोड नगरपालिका स्थित पाथीभरा सिने प्लाजा नजिकैको करिव नौ करोड मूल्य पर्ने सात कठ्ठा जमिन भूमाफियाले हडप्न खोजेको भन्दै स्थानीयले बिरोध गरेका छन् ।

कित्ता नम्बर नै हेरफेर गरेर जग्गा हडप्नेमा जनप्रतिनिधिसहित नापी कार्यालय झापाका कर्मचारीको समेत मिलेमत्तो रहेको आशंका छ ।

झापाको बिर्तामोड नगरपालिका–१ मा कित्ता नम्वर नै हेरफेर गरेर जग्गा हडप्ने गिरोहलाई नापी कार्यालय झापाले फरक/फरक नक्सा दिएपछि कार्यालयकै मिलेमत्तो रहेको खुलेको हो ।

बिर्तामोड १ मा रहेको कित्ता नम्वर ५ सय ४७ लाई भू–माफियाको टोलीले कित्ता नम्बर ६ सय २२ राखेर जग्गा हडप्ने काम गरिरहेका बेला नापी कार्यालयले एउटै जग्गाको दुई फरक/परक नक्सा दिएसँगै रहस्य बाहिरिएको हो ।

नापी कार्यालयले २०७७ साल साउन महिना र असोज महिनामा एउटै जग्गाको फरक/फरक नक्सा दिएको छ ।

कार्यालयका सर्वेक्षक नारायण सापकोटा र द्रोजेन्द्रराज काफ्लेले हस्ताक्षर गरेर एउटै जग्गाको फरक फरक नक्सा दिएपछि वास्तविक जग्गा धनी मालपोत र नापी कार्यालय धाउन बाध्य छन् ।

वास्तविक जग्गा धनीलाई थाहा नै नदिई जनप्रतिनिधि र नापीका कर्मचारीको मिलेमत्तोमा पैनीको जग्गालाई नम्वरी जग्गाको कित्ता नम्वर राखेर भू–माफियाले जग्गा विक्री गरेको बिर्तामोडका स्थानीय युवराज प्रसाईले बताउनुभयो ।

वास्तविक जग्गा धनी सम्पूर्ण प्रमाण लिएर नापी कार्यालयमा पुगेपनि प्रमुख नापी अधिकृत डिल्लीराज भण्डारीले कार्यालयमा जिर्ण नक्सा भएका कारण गल्ती भएको भन्दै कर्मचारीको बचावट गरेका छन् । उनले गल्ती भएको नक्सालाई सुधार गरेर लाने भन्दै पन्छिएका छन् ।

बिर्तामोड नगरपालिका १ का वडा अध्यक्ष अग्निप्रसाद पाण्डेसहित एक वर्ष अघि सो जग्गाको सर्वेका लागि कार्यालयकै सर्वेक्षक रामकुमार यादव आएका थिए ।

त्यस वेला सो जग्गाको कित्ता नम्वर ५ सय ४७ नै भएको प्रमाणित गरेको साहको भनाई छ ।

तर, अहिले उक्त जग्गालाई ६ सय २२ कित्ता नम्वर बनाउनु गलत भएको कार्यालयकै सर्बेक्षक यादवको भनाइ छ ।

भगवती आवासिय प्रालिसँग १६ जनाले कित्ता नम्बर ५ सय ४७ वाट जग्गा खरिद गरेका छन् । जग्गा खरिद गर्ने मध्ये धेरैले अहिले सो ठाउँमा घर निर्माण गरिसकेका छन् ।

सो ठाउँमा गत असोज १८ गते बिर्तामोड नगरपालिका १ ले कुनै घर निर्माण नभएको र पक्का वाटो मात्रै २० फुटे भएको भन्दै सिफारिस दिएसंगै वडा अध्यक्ष पाण्डेको समेत सम्लग्नता रहेको आरोप लागेको छ । तर, पाण्डेले सो कार्यमा आफ्नो कुनै सम्लग्नता नरहेको दावी गर्दै आएका छन् ।

नवर्दा चौहानको नामबाट ललितपुर महानगरपालिका ४ मा रहेको जी टेडिङ प्रालिले सो जग्गा खरिद गरेको छ ।

आफ्नो जग्गा अरुले नै हडपेपछि वास्तविक जग्गा धनी अहिले आफ्नो जग्गाको प्रमाण बोकेर नापी कार्यालय र मालपोत कार्यालय धाउन बाध्य छन् ।

भिडियो