
काठमाडौं, मंसिर २ । काठमाडौं महानगरपालिकाले मंगलबार (आज)देखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भनेपनि हाम्रो टिम नेपालले खाना खुवाएको छ ।
असहाय मानिसहरु लामबद्ध भएर बसेपछि खाना खुवाउन बाध्य भएको हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले बताउनुभयो ।
महानगरपालिकाले मंसिर २ गतेदेखि खुलामञ्चमा नभइ अन्य ठाउँमा व्यवस्थित गरी खाना खुवाउन हाम्रो टिम नेपाललाई आग्रह गरेको थियो ।
सोहीअनुसार मंगलबारदेखि खुलामञ्चमा खाना नखुवाउने सम्झौता पनि भएको थियो ।
तर, खाना खुवाउनको लागि उचित ठाउँको व्यवस्था गर्न नसकिएकाले फेरि पनि खुलामञ्चमा नै खाना खुवाउन आफूहरु बाध्य भएको पन्तले बताउनुभयो ।
खाना खान आउने मानिसहरुले भने खुलामञ्चमा खाना वितरण गर्ने कार्यलाई महानगरपालिकाले रोक्न लागेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरुले ‘कि काम देऊ, होइन भने खान देऊ’ भन्दै खाना खुवाउने कार्यक्रमलाई नरोक्न माग गरेका छन् ।
सडकमा बसेर खाना खानु आफूहरुको रहर नभइ बाध्यता भएको पनि उनीहरुले बताए ।
काठमाडौं महानगरपालिकाले भने अव्यवस्थितरुपमा खाना खुवाउँदा कोरोना संक्रमण फैलने डर भएको भन्दै खुलामञ्चमा खाना नखुवाउन आग्रह गरेको छ ।
व्यवस्थित ठाउँमा खाना खुवाउने भए आफूले पनि सक्दो सहयोग गर्ने महानगरपालिकाले बताउँदै आएको छ
प्रतिक्रिया दिनुहोस्