
काठमाडौं, मंसिर २ । यतिबेला विभिन्न देशहरुले कोरोनाभाइरसविरुद्धको खोप परीक्षण गरिरहेका छन् । केही देशले त खोपको परीक्षण सफल भएको दाबीसमेत गरेका छन् ।
खोपको विकास भए नेपालसम्म कहिले आइपुग्ला ?
अमेरिकी कम्पनी मोर्डनाले कोरोनाभाइरसविरुद्ध बनाएको खोपको सफल परीक्षण भएको दाबी गरेको छ । कम्पनीले सोमबार विज्ञप्तिमार्फत् खोप ९५ प्रतिशत प्रभावकारी देखिएको जनाएको हो ।
‘मोलिक्युल’मा आधारित यस खोपले कुनै ‘साइड इफेक्ट’विना शरीरभित्र ‘एन्टीबडी’ विकास गरी भाइरसलाई परास्त पार्ने दाबी कम्पनीको छ ।
यस्तै, अमेरिकी बहुराष्ट्रिय कम्पनी फाइजरलेसमेत संक्रमण रोक्न सक्ने खोप विकास गरेको जनाएको छ । यस खोपले ९० प्रतिशत संक्रमण रोक्ने बताइएको छ ।
हाल बेलायत, अमेरिका, चीन, रुसलगायतका देशले खोपको तेस्रो चरणको परीक्षण सुरु गरेका छन् । विश्वभर दुई दर्जन खोप तेस्रो चरणको परीक्षणका क्रममा छन् । तीमध्ये चारओटा खोप चीनमा बनेका हुन् ।
सरकारले चीनमा परीक्षण भइरहेको खोप नेपालमा प्रयोग गर्न स्वीकृति दिएको छ ।
खोपको तेस्रो चरणको परीक्षण सफल भएपश्चातमात्र नेपालमा खोप ल्याउने निर्णय सरकारले गरेको थियो । यसका लागि स्वास्थ्य मन्त्रालयले तयारी गरेको जनाएको छ ।
खोपको तेस्रो चरण परीक्षण प्रभावकारी भए नेपालले प्रक्रिया अगाडि बढाउनेछ ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्माले विभिन्न देशहरुमा कोरोनाभाइरसविरुद्ध खोपको तेस्रो चरण परीक्षण प्रभावकारी भएको ‘फाइनल रिपोर्ट’ विश्व स्वास्थ्य संगठन वा त्यस देशको आधिकारिक संस्थाले प्रमाणीकरण गरेपश्चातमात्र प्रयोग गर्न सकिने प्रावधान रहेको जानकारी दिनुभयो ।
नेपालमा भने विश्व स्वास्थ्य संगठनले आपत्कालीन प्रयोगका लागि सूचीकृत गरेर औषधि व्यवस्थापन विभागमा दर्ता भएको हुनुपर्छ ।
यो प्रक्रिया पूरा गरेपछिमात्र खोप प्रयोग गर्न सकिने डा. शर्माले बताउनुभयो ।
यस्तै, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले भने नेपालमा ‘क्लिकल ट्रायल’ गरेरमात्र प्रयोगमा ल्याउनेबारे छलफल भइरहेको जानकारी दिनुभयो ।
तर, खोप शाखा प्रमुख डा. शर्मा भने तेस्रो चरण परीक्षणसम्म प्रभावकारी नजिता ल्याएको खोपको क्लिनिल ट्रायल गर्न आवश्यक नभएको बताउनुभयो ।
सबै नेपालीलाई खोपको पहुँच पुर्याउन ६० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्