
काठमाडौं, मंसिर २ । सन् २०२० को अक्टोबरसम्ममा हवाईमार्गबाट नेपाल आउने पर्यटकको संख्या गत वर्षको सोही अवधिको तुलनामा ८१ प्रतिशतले कम भएको छ ।
कोभिड–१९ का कारण धेरै असर गरेको यो क्षेत्रमा गएको वर्षमा सोही अवधिमा नौ लाख ३६ हजार बढी पर्यटक आएकोमा यो वर्ष भने एक लाख ८० हजारमात्र आएका छन् ।
कोभिडको विश्वव्यापी असरका कारण आन्तरिक एवं बाह्य आगमनका लागि हवाई तथा स्थल यातायात लामो समयसम्म बन्द रहँदा यो क्षेत्रमा नराम्रो असर परेको छ ।
यता, विदेशी मुद्राको सञ्चिति भने गत वर्षको तुलनामा यो वर्ष ३२.९ प्रतिशतले वृद्धि भएको छ ।
अर्थ मन्त्रालयकाअनुसार २०७६ भदौ मसान्तसम्म १० खर्ब ७८ अर्ब ९४ करोड रहेको विदेशी विनिमय सञ्चिति २०७७ को सोही अवधिमा १४ खर्ब ३३ अर्ब ३३ करोड पुगेको छ ।
२०७६ असार मसान्तको तुलनामा २०७७ मसान्तमा अमेरिकी रुपैयाँमा नेपाली मुद्रा २.४ ले अधिमूल्यन भइ ११७ रुपैयाँ भएको छ । गत वर्ष सोही अवधिमा उक्त विनिमय दर १२० रुपैयाँ थियो ।
यसैगरी, बिमा क्षेत्रमा पनि यो वर्ष सुधार आएको छ । चालू आर्थिक वर्षको असोज महिनासम्म अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २६ प्रतिशतले वृद्धि हुँदा ३९ अर्ब ८६ करोड बिमा प्रिमियम संकलन भएको छ । अघिल्लो वर्ष सोही अवधिमा ३१ अर्ब ४० करोडमात्र संकलन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्