१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


केबलकार र जंगल सफारीलगायत पर्यटकीय गतिविधि हुने क्षेत्र खुला गरिने


0
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय गतिविधि हुने क्षेत्र खुला गर्ने निर्णय गरेको छ ।

मन्त्रालयले केबलकार, जंगल सफारी र संग्रहालयजस्ता क्षेत्र खोल्न मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि स्वस्थ्य मन्त्रालयले तोकेका स्वास्थ्य सुरक्षा अपनाएर सुरक्षित रहने उपाय अपनाएर खुला गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले विज्ञप्ती जारी गरेर सुरक्षित रहने गरी पर्यटकीय गतिविधि हुने क्षेत्र खोल्न भनिए पनि जोखिमको विश्लेषण गरी निर्णय गर्ने अधिकार जिल्लालाई नै दिइएको जनाएको छ ।

यसरी खुल्ने केबलकार, जंगल सफारी र संग्रहालयजस्ता क्षेत्रमा स्वास्थ्य मापदण्ड पालाना भए नभएको भने मन्त्रालय मातहतका निकायले नै अनुगमन गर्ने विज्ञप्तिमा जनाइएको छ ।

कात्तिक २४ गते बसेको मन्त्रिपरिषद्को बैठकल पर्यटकीय क्षेत्र खुला गर्ने निर्णय गरेको थियो ।

यसैबीच स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर बुद्ध जन्मस्थल लुम्बिनी पनि खुला गरिएको लुम्बिनी विकास कोषले जनाएको छ ।

लुम्बिनी क्षेत्र खुला भएपनि मायादेवी मन्दिरभित्र प्रवेश पाइने छैन । तर मायादेवी मन्दिर परिसरमा रहेका अशोक स्तम्भ, पुष्करिणी पोखरी र बगैचा खुला रहनेछन् ।

कोषले मायादेवी मन्दिर परिसरमा प्रवेश गर्ने पर्यटकले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने र प्रवेश गर्नुअघि तापक्रम मापन गरेर मात्रै प्रवेश दिइने जनाएको छ ।

लुम्बिनीका अरु विहार र मन्दिरहरुमा घुमघामका लागि पनि स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्नुपर्ने छ ।