
काठमाडौं, मंसिर ३ । काठमाडौं महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर परिसरमा रहेको गुठी जग्गामा आकर्षक बगैंचा निर्माण गरिने भएको छ ।
विगतमा मैतीदेवी मन्दिर प्रबन्ध समितिले नर्सरीलाई भाडामा दिएको करिब दुई रोपनी जग्गामा भूकम्पजस्ता प्राकृतिक प्रकोपका बेला सुरक्षितरुपमा बस्न सकिने र अरु बेलामा पनि मानिसले पुनर्ताजगीका लागि उपयोग गर्नसक्ने गरी बगैंचा बनाउन लागिएको हो ।
बगैंचा बनाउन काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन गरेको वडा नम्बर–३० का अध्यक्ष दलबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो ।
सहरी विकास तथा भवन निर्माण विभागले स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएसँगै प्रबन्ध समिति महानगरपालिकालाई हस्तान्तरण गरेको पनि उहाँले सुनाउनुभयो ।
मन्दिर क्षेत्रमा धोबीखोला मैतीदेवी छुट गुठीका नाममा पहिले करिब ३० रोपनी जग्गा भएपनि हाल दुई रोपनीमात्र बाँकी छ । बाँकी भएको जग्गालाई महानगरपालिकाले बगैंचा निर्माण गरेर संरक्षण गर्न लागेको पूर्वाधार विभाग प्रमुख रामबहादुर थापाले बताउनुभयो । बगैंचाको डिजाइन बनाउने काम भइरहेको उहाँले सुनाउनुभयो ।
महानगरपालिकाका वडा नम्बर– ९, २९ र ३० मा मन्दिरका नामको राजगुठीको जग्गा रहेको छ । वडा नम्बर–९ को जग्गा खाली छ । वडा नम्बर–२९ र ३० को जग्गामा भने घर बनिसकेको गुठीका गुठियार नाइके सत्य मुनिकारले बताउनुभयो ।
वडा नम्बर–९ खाली जग्गामा पनि मोहीका बीचमा मुद्दा चलिरहेको छ ।
मन्दिर क्षेत्रको जग्गा संरक्षण गर्ने उद्देश्यले महानगरपालिकाले बगैंचा निर्माण प्रक्रिया सुरु गरेको हो । अरु जग्गालाई पनि मन्दिर मातहत ल्याउँदै जाने समितिको प्रतिबद्धता छ ।
मन्दिर परिसरमा पुरातत्व विभागले तामाको छाना राखेर साँस्कृतिक पाटी निर्माण गरिरहेको छ । पाटीसँगै पुजारी घर पनि निर्माण भइरहेको समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्