
काठमाडौं । सरकारले कोरोना महामारी सुरु भएपछि स्वदेश फर्किएकाहरुको तथ्यांक अझै संकलन गर्न सकेको छैन ।
महामारीका कारण बेरोजगार भएकाहरुलाई स्वदेशमै रोजगारी दिने घोषणा गरेको सरकारले अझै पनि उनीहरूको यकिन तथ्यांक संकलन गर्न सकेको छैन ।
गत वर्ष चीनको वुहानमा कोरोना देखिएपछि नेपालीहरू फर्किने क्रम सुरू भए पनि सरकारसँग कोरोना कारण कति नेपाली फर्किए भन्ने यकिन तथ्यांक छैन ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार विदेशबाट फर्किएकाहरूको तथ्यांक यकिन नहुँदा बेरोजगार भएकाहरूलाई रोजगारी दिन सकिएको छैन ।
श्रममन्त्री रामेश्वर राय यादवले महामारीका बेला विदेशबाट फर्किएकाको तथ्यांक संकलनको काम थालिएको जानकारी दिनुभयो ।
सरकारले महामारीमा अलपत्र परेकाहरूको विमान चार्टर गरेरै उद्धारसमेत गरेको थियो । तर यकिन तथ्यांक सो बेला नराखेको मन्त्री यादवको भनाइ छ ।
सरकारले रोजगारी दिन नसकेकाले महामारीकै बीच विदेसिने क्रम बढेपछि सरकारको आलोचना हुन थालेको छ ।
अर्थ मन्त्रालयको प्रस्तावमा गत कात्तिक २४ गतेको मन्त्रिपरिषद् बैठकले रोजगारी सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार तथ्यांक संकलनका लागि स्थानीय तहलाई पत्राचार गरिएको श्रम मन्त्रालयले जनाएको छ ।
सरकारको निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ दिनभित्र तथ्यांक संकलन गरी पठाउन स्थानीय तहहरूलाई निर्देशन दिइसकेको छ ।
भारतमा कोरोना संक्रमण बढ्न थालेपछि त्यसबाट बच्न भारतबाट ठूलो संख्यामा नेपालीहरू आएका थिए ।
तर, पछिल्लो समय रोजीरोटी धान्नै कठिन भएपछि दसैं, तिहारको मतलब नै नगरी रोजगारीको खोजीमा उनीहरू भारत फर्किरहेका छन् ।
सरकारले चालू आर्थिक वर्षको बजेटमा वैदेशिक राजगारीबाट फर्किएकाहरुलाई स्वदेशमै रोजगारीका लागि विभिन्न कार्यक्रम सञ्चालनका लागि ४७ अर्ब रुपैयाँ बजेट छुट्ट्याएको छ ।
प्रतिक्रिया दिनुहोस्