
काठमाडौं, मंसिर ४ । काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ ।
बिहीबार काठमाडौंको न्यूनतम् तापक्रम यस वर्षकै सबैभन्दा कम ५.६ डिग्री सेल्सियस मापन गरिएको छ ।
बुधबार काठमाडौंको न्यूनतम् तापक्रम ६.० डिग्री थियो ।
मौसमविद् मीनकुमार अर्यालकाअनुसार देशभर चिसो बढ्दै जानेक्रममा रहेको छ ।
‘तापक्रम घट्नेक्रममा छ । अब चिसो क्रमशः बढ्दै जान्छ’–मौसमविद् अर्यालले भन्नुभयो ।
दिनभर घाम लागेपनि बिहान र बेलुका जाडो बढेको महसुुस भएको छ । मौसमविद्काअनुसार पानी पर्यो भने अझै जाडो बढ्छ ।
तत्काललाई पानी पर्ने सम्भावना रहेको छैन । वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ ।
जल तथा मौसम विज्ञान विभागले आगामी २४ घन्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका धेरै स्थानमा न्यूनतम् तापक्रम घट्नाका साथै तराईका भू–भागमा बिहान पारदर्शितामा कमी भइ सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बिहीबार काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम ५.६ डिग्री र अधिकतम् तापक्रम २२.३ डिग्री सेल्सियस छ ।
त्यस्तै, बिहीबार सबैभन्दा कम जुम्लाको न्यूनतम् तापक्रम माइनस २.५ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम् तापक्रम १४.० डिग्री सेल्सियस छ ।
प्रतिक्रिया दिनुहोस्