
काठमाडौं, मंसिर ४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिरामीको उपचारका क्रममा कोरोनाभाइरस संक्रमण भएर वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुनिल झा र नेपाल बर्न सोसाइटीका अध्यक्ष डा. नारायणबहादुर थापाको निधन भएकोप्रति दुःख व्यक्त गर्नुभएको छ ।
उहाँले बिहीबार एक विज्ञप्तिमार्फत् दुवै वरिष्ठ चिकित्सकप्रति उच्च सम्मानसहित श्रद्धाञ्जलि प्रकट गर्नुभएको छ ।
साथै, दुवैसँगको पुरानो व्यक्तिगत स्मृति गर्दै सभापति देउवाले नेपालको चिकित्सा क्षेत्रमा दुवैको लामो योगदान स्मरणीय रहने उल्लेख गर्नुभएको छ ।
मृतक दुवैका परिवारजनप्रति समवेदना व्यक्त गर्दै सभापति देउवाले कोरोनाविरुद्धको संघर्षको वर्तमान समयमा कोभिड र ननकोभिड दुवैथरीको उपचारमा संलग्न देशभरका स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान पुर्याउन सरकारलाई आग्रहसमेत गर्नुभएको छ ।
यसैगरी, सभापति देउवाले नोभेम्बर १५ मा हङकङको एक होटलमा भएको आगलागीमा परेर नौजना नेपालीको निधन भएकोप्रति दुःख व्यक्त गर्दै सो घटनाका अस्पतालमा उपचाररत् अन्य घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
जन्मदिन मनाउनेक्रममा भएको रमाइलो जमघट मृत्युको कहालीलाग्दो स्थितिमा पुग्नु हृदयविदारक भन्दै सभापति देउवाले मृतक सबैको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजन र हङकङबासी नेपाली समुदायमा समवेदना व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्