१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


क्रियाशील सदस्यहरुको सूची केन्द्रमा पठाउन कांग्रेसको निर्देशन


0
Shares

काठमाडौं, मंसिर ५ । १४औं महाधिवेशनकेन्द्रित क्रियाशील सदस्यतालाई टुंगोमा पुर्‍याउने कसरतमा जुटेको नेपाली कांग्रेसले २५ दिनभित्र नवीकरण तथा नयाँ वितरण भएका क्रियाशील सदस्यहरुको सूची केन्द्रमा पठाउन सम्पूर्ण जिल्लाहरुलाई निर्देशन दिएको छ ।

पार्टी मुख्यसचिव कृष्ण पौडेलले ७७ ओटा जिल्लाका सभापतिहरुलाई यही मंसिर मसान्तभित्र क्रियाशील सदस्यहरुको सूची केन्द्रमा पठाउन पत्राचार गरिएको जानकारी दिनुभयो ।

गएको कात्तिक २८ गते सम्पन्न भएको केन्द्रीय कार्यसमिति बैठकको निर्णयबमोजिम जिल्ला सभापतिहरुलाई निर्देशन दिने काम भएको हो ।

केन्द्रीय सदस्य अर्जुन जोशीकाअनुसार सदस्यहरुको सूची केन्द्रमा आइसकेपश्चात् महाधिवेशन कार्यतालिका हेरफेर गर्ने विषयमा पुनः केन्द्रीय कार्यसमिति बैठक बसेर छलफल गर्ने सहमति संस्थापन र इतर पक्षबीच भएको छ ।

पार्टीले सदस्यता वितरण तथा नवीकरणका कामलाई तीव्रता दिन तल्ला तहका संरचनालाई निर्देशन दिइसकेको मुख्यसचिव पौडेलले जानकारी दिनुभयो ।

कांग्रेसले १४औं महाधिवेशनमा क्रियाशील सदस्यको संख्यामा दोब्बरले वृद्धि गरेर करिब १० लाख पुर्‍याउने तयारी गरेको छ ।

यसअघि निर्धारण गरिएको कार्यतालिकाअनुसार भदौ मसान्तभित्र क्रियाशील सदस्यहरुको सूची केन्द्रमा पठाउने पार्टीको तयारी थियो ।

तर, कोरोना संक्रमण र पार्टीको आन्तरिक कलहका कारण महाधिवेशनकेन्द्रित पार्टीको गतिविधि अझै सुस्त नै रहेको देखिन्छ ।