
काठमाडौं, मंसिर ५ । सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाडौंको धोबीखोला करिडोर व्यवस्थित गर्न सरकार क्रियाशील रहेको बताउनुभएको छ ।
करिडोरको शुक्रबार अनुगमन गर्दै मन्त्री श्रेष्ठले २४ किलोमिटरको करिडोरलाई व्यवस्थित बनाउन मातहतका निकायलाई निर्देशन दिनुभयो ।
राजधानीको सुन्दर सम्पत्तिको रुपमा रहेको धोबीखोला जथाभावी फोहर फालेर प्रदूषण बढेको भन्दै मन्त्री श्रेष्ठले यथाशक्य चाँडो यस्ता कदम रोक्न उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीलाई निर्देशन दिनुभयो ।
उहाँले जथाभावी निर्माण सामग्री राख्ने व्यक्ति पहिचान गरी कारबाही गर्न र एक हप्ताभित्र करिडरको बाटोमा भएका सबै खाल्टाखुल्टी पुर्न पनि निर्देशन दिनुभयो ।
उहाँले बिजुलीबजारस्थित निर्माणाधीन ‘अन्डरपास वे’ निर्माणकार्यलाई पनि चाँडोभन्दा चाँडो पूरा गर्न निर्देशन दिनुभएको छ ।
उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकजी तिवारीले आगामी आर्थिक वर्षभित्र नै सम्पूर्ण करिडोर निर्माण पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अनुगमनमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराई, सहरी विकास मन्त्रालयका सचिवलगायतका सरकारी अधिकारीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्