
वीरगन्ज, मंसिर ५ । निकै हर्षोल्लास र असिम आस्थाका साथ तराई क्षेत्रमा मनाइने छठ पर्व कोरोनाको कहरसँगै मनाईंदैछ ।
तराईमा छठको विशिष्ठ रौनक रहँदै आएपनि यसपालिको भने अवस्था फरक छ ।
छठअगावै प्रत्येक वर्ष बेहुलीजस्तै सिंगारिने वीरगन्जको घडिअर्वा पोखरी यसपालि उदास छ । न महँगा टेन्टको सजावट छ, न साविकको जस्तो झिलिमिली छ । न त चहलपहल नै । छठघाटको अवस्था पनि उस्तै छ ।
जोखिमको अवस्थामा यसपालि कुनै तामझाम गरिएन । एकदम सामान्य किसिमले र निकै सावधानीका साथ छठ पर्व हुने भएको छ ।
कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै सावधानीपूर्वक छठ पर्व मनाउन घडीअर्वालगायत सम्पूर्ण ठाउँमा व्यवस्थापन गरिएको वीरगन्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले बताउनुभयो ।
कोरानाको कारण छठ पर्व केही खल्लो लागेपनि छठको तयारी र उत्साहमा भने कमी छैन ।
प्रदेश सरकारले छठ पर्वको महत्वकोबारेमा बुधबार आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले छठ पर्वले मुलुकभित्रका विभिन्न समुदाय र संस्कृतिलाई जोड्ने काम गरेको बताउँदै छठको साँस्कृतिक विस्तारले देशलाई एकताबद्ध बनाउन सघाएको बताउनुभयो ।
शुक्रबार अस्ताउँदो सूर्यलाई अर्घ्यदान गरी उपासना गरेका ब्रतालु सप्तमी तिथिमा शनिबार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि ब्रत उद्यापन गरिन्छ ।
दिउँसोभरि निराहार बसेका बर्तालु बिहीबार पञ्चमीको दिन बेलुकी माटाको नयाँ र चोखो चुल्होमा अगहनी चामलमा दूध र गुड (भेली) हालेर ‘रसियाव’ र चोखो पारिएको गहुँको पिठोको रोटी पकाएर पूजा गरी खाने र प्रसादस्वरुपमा अरुलाईसमेत खुवाउने विधि खरना मनाएका छन् । यस प्रसादलाई पकाउनका लागि माटोको नयाँ चोखो चुल्हो बनाइएको हुन्छ जसमा आँपको दाउरा बालिन्छ ।
कठिन विधिसाथ मनाइने यस ब्रतमा भोजनमा मांसाहारमात्र नभइ लसुन प्याजसमेत वर्जित हुने गरेको छ ।
भोजपुरी लोकसंस्कृतिका जानकार उमाशंकर द्विवेदीकाअनुसार छठ पूजा उत्सवको रुपमा मात्र नभइ कठिन ब्रत र उपवासपूर्वक गरिने तपस्याको रुपमा रहेको बताउनुहुन्छ ।
लोकमान्यता र परम्परामा आधारित सबै जात–जाति र वर्गले र उमेर समूहका मानिसहरुले मनाउने छठ मधेस–तराईको लोकपव नै हो ।
कोरोनाको कहर भएपनि छठी मैयाको आर्शीवादले आउने समयमा नयाँ उमंग आउने आशा सबैले लिएका छन् ।
प्रतिक्रिया दिनुहोस्