
पोखरा । पर्यटकीय क्षेत्र पोखराको पर्यटन कोरोनाको प्रभावले नराम्ररी थला परेको छ । तर, पछिल्लो समयमा पोखरेली आकाशमा प्याराग्लाइडिङ ताँतीले भने केही उत्साह थपेको छ ।
करिब ६ महिनासम्म ठप्प भएको प्याराग्लाइडिङ क्षेत्र आन्तरीक पर्यटकको चापले चलायमान हुन थालेको छ ।
फेवाताल माथिको आकाश नै ढाकिने गरी ग्लाइडर फन्कोले पर्यटन प्रवद्र्धनमा केहीभए पनि सघाउ पुगेको पर्यटन व्यवसायीहरु बताउँछन् ।
सुरुमा नगन्य उडान रहेकोमा हाल आधा छुट दिएका कारण अचेल दैनिक ६ सयसम्म उडान हुने गरेको प्याराग्लाइडिङ संचालकहरुको संस्था नेपाल हवाई खेलकुद संस्थाले जनाएको छ ।
आकाशमा चराझैं घुम्ने रहर पालेकाहरु थप आकर्षित हुँदै गएकाछन् । उड्नेहरु साना केटाकेटीदेखि वृद्धावृद्धासम्म छन् ।
विगतमा सात हजार रुपैयाँ खर्चिनु पर्नेमा अहिले छुट पाउँदा तीन हजार रुपैयाँमा फेवातालमा हाावा खाँदै माछापुच्छे्रको स्पर्शमा लिन पाइन्छ ।
प्याराग्लाइडिङ कम्पनीले नेपालीलाई आधा घण्टा उडाएको विगतमा ७ हजार रुपैयाँसम्म लिने गरेकोमा अहिले ५० प्रतिशत बढी छुट दिएको पाईलट लक्ष्मण न्यौपानेले बताउनुभयो ।
भीडका कारण अहिले दुई तीन दिन पहिले नै टिकट बुकिङ गरिसक्नुपर्ने अवस्था छ । नत्र पालो पाइँदैन ।
मौसमको साथ, भारी छुट, फुर्सद सदुपयोग गर्दै मानिसहरु काठमाडौं, चितवन, बुटवल, धरान र पाल्पा लगायत टाढाटाढाबाट यहाँ आउने गरेका छन् ।
विदेशी पर्यटक नभए पनि आन्तरिक पर्यटकले अहिले यो व्यवसाय चलायमान भएको छ ।
मानिसको भिडले व्यवस्थापन गर्नसमेत हम्मेहम्मे परेको विभिन्न कम्पनी संचालकको भनाइ छ ।
विगतमा महँगो भएकाले प्याराग्लाइडिङ गर्न नसक्ने समेत अहिले अनुभवका लागि आउने गरेको प्याराग्लाइडिङ संचालक भूपाल गुरुङको भनाइ छ ।
कोरोनाविरुद्ध स्वास्थ्य सचेतना अपनाउँदै यात्रुको तापक्रम नाप्ने, अनिवार्य मास्क प्रयोग, सेनिटाइजर प्रयोग गर्नुपर्ने नियम बनाइएको छ ।
पोखरा–१८, सराङकोटका ३ स्थान र नजिकैको तोरीपानीको टेक अफ क्षेत्रबाट उडान भरी पाइलटले फेवाताल किनार खपौंदी, इन अफ द लेक, वाटरफ्रन्ट रिसोर्ट अगाडिको चौरमा अवतरण गर्दछन् ।
नेपालको पर्यटनको क्षेत्रका प्याराग्लाईडिङको भूमिका महत्तवपूर्ण रहेको छ ।
प्रतिक्रिया दिनुहोस्