
ताप्लेजुङ, मंसिर ६ । ताप्लेजुङको सिरीजंघा गाउँपालिकाले उपभोक्ता समितिको काम प्रभावकारी नभएपछि टोल विकास संस्थामार्फत् योजना सञ्चालन गर्ने नीति लिएको छ ।
उपभोक्ता समितिबाट भएका काम पारदर्शी नभएको गुनासोहरु बढ्न थालेपछि टोल विकास संस्थामार्फत् काम गर्ने गाउँपालिकाले नीति लिएको हो ।
वर्षौंदेखि गाउँका सामाजिक कार्यमा सक्रिय सिरीजंघा गाउँपालिका–३ की शान्ति लिम्बुको जिम्मेवारी फेरिएको छ । उहाँ अहिले सिकैंचा टोल विकास संस्थाको अध्यक्ष बन्नुभएको छ ।
गाउँपालिकाले ‘टोल विकास संस्था गठन तथा परिचालनसम्बन्धी ऐन, २०७६’ पारित गरेर शान्तिसहित ७२ जनालाई यस्तो जिम्मेवारी दिएको छ ।
गाउँपालिकामा सञ्चालन हुने योजनाको प्रभावकारी कार्यान्वयनका लागि ७२ ओटा टोल विकास संस्था गठन गरिएको छ ।
यहाँ अब १० लाख रुपैयाँभन्दा तलका योजना सम्पन्न गर्न उपभोक्ता समिति गठन हुने छैन ।
सम्पन्न भएका आयोजनाहरुको रेखदेखसमेत टोल विकास संस्थाले गर्ने भएकाले ‘सिरिजंघाका टोल, विकासका खोल’ नारा तय गरिएको छ ।
स्थायी प्रकृतिका टोल विकास संस्थाले सामाजिक समस्या समाधानका लागि जनचेतना अभिवृद्धि गर्ने, टोल तथा सार्वजनिक स्थानमा वृक्षरोपण अभियान चलाउने, आफ्नो टोललाई बन्द, हड्ताल निषेधित क्षेत्र तोक्ने व्यवस्था मिलाउने र विभिन्न जनचेतनामूलक अभियानलगायतका काम वर्षैभरि गर्नेछन् ।
अहिले गाउँपालिकाले समितिहरुलाई उनीहरुको भूमिकाकाबारेमा प्रशिक्षण दिइरहेको छ ।
टोलबासी नागरिकहरुको जीवनस्तर उकास्न उद्यमशीलता प्रवद्र्धनका कार्यहरुसमेत गरेर गाउँपालिकालाई मुलुकमै नमुना बनाउने अभियानमा टोल विकास संस्थाको मुख्य भूमिका हुने गाउँपालिकाको विश्वास छ ।
पालिकाले दिएको जिम्मेवारी वहन गर्न तयार रहेको समितिका पदाधिकारीहरुले बताएका छन् ।
प्रत्येक घरधुरीका एकजना समितिका साधारण सदस्य हुनेछन् । कार्यकारी समितिको पदावधि दुई वर्षको हुने प्रावधान ऐनले गरेको छ ।
संस्थाको बैंकमा रहनेगरी कोष रहने, उक्त कोषको लेखापरीक्षण गर्नुपर्ने र उत्कृष्ट संस्थालाई पुरस्कृतसमेत गर्ने उल्लेख छ ।
स्थानीय तहको काम अपारदर्शी हुने गरेको समाचारहरु आइरहेका बेला अन्य स्थानीय तहले पनि यस्ता सृजनात्मक योजना ल्याउन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्