
काठमाडौं, मंसिर ६ । काठमाडौं महानगरपालिकाले आइतबार (भोलि)देखि निःशुल्क ‘पीसीआर’ परीक्षणका लागि स्वाब संकलन गर्ने कार्य सुरु गर्ने भएको छ ।
सरकारले तोकेको मापदन्डभित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्नका लागि स्वाब संकलन गर्ने कार्यलाई फेरि सुचारु गर्न लागिएको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।
उहाँले ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका अशक्त र ज्येष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न मोबाइल भ्यान सञ्चालन गर्ने तयारी गरिएको बताउनुभयो ।
मेयर शाक्यले काठमाडौं महानगरपालिकाले परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ अघि बढेको भन्दै कन्ट्याक ट्रेसिङमा परेका र लक्षण देखिएकालाईमात्र पीसीआर परीक्षण गर्न आग्रह गर्नुभयो ।
उपत्यकामा पछिल्लो समय बढिरहेको संक्रमणको चक्र तोड्न प्रभावकारी कदम चाल्नुपर्ने अवस्था आएको उहाँको भनाइ थियो ।
मेयर शाक्यले अहिले बजारमा देखिएको भिडभाड नियन्त्रण गर्न उपत्यका नगरपालिका फोरमले ‘सीसीएमसी’लाई सुझाव दिइसकेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्