
काठमाडौं, मंसिर ६ । कोरोना संक्रमण नियन्त्रणका लागि विगतमा जारी गरिएको ‘लकडाउन’को समयलाई सदुपयोग गर्नेहरु अहिले स्वरोजगार बन्दै आम्दानी गरिरहेका छन् ।
हेटौंडा उपमहानगरपालिका–६ मा मात्रै लकडाउनपछि ४० भन्दा बढी परिवारले व्यावसायिक कृषिलाई आफ्नो आम्दानीको स्रोतको रुपमा अगाडि बढाएका छन् ।
हेटौडा–६, शान्तिटोलका भरत सापकोटालाई लकडाउनका कारण लाखौं लगानी गरेर सञ्चालन गरेको निजी विद्यालय बन्द भएपछि बैंकको ब्याज तिर्नसमेत समस्या भयो ।
त्यसैले उनले आफ्नो पुर्ख्यौली जमिनमा व्यावसायिक ढंगबाट एकीकृत कृषि फार्मको सुरुआत गरे ।
लकडाउनकै बीचमा कुखुरा, माछा र तरकारी खेती सुरु गरेका सापकोटाले अहिले आम्दानी लिन थालिसकेका छन् ।
यस्तै, लकडाउनभन्दा अघि हार्डवेयर र कस्मेटिक पसल सञ्चालन गरिरहेका हेटौंडा–६, चुच्चेखोलाका प्रमेश पराजुली र कल्पना पराजुलीको परिवारले पनि लकडाउनकै बीचमा व्यावसायिक तरकारी खेती सुरु गरेको छ ।
बेमौसमी तरकारी खेती सुरु गरेका उनीहरुले पहिलो उत्पादनमै तीन लाख रुपैयाँ बढीको तरकारी बिक्री गरेका छन् ।
लकडाउन र निषेधाज्ञाका कारण बेरोजगार भएकाहरुलाई लक्षित गरेर हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ ले स्वरोजगार कार्यक्रम सुरु गरेको छ ।
व्यवसायीहरुले स्वरोजगारतर्फ उन्मुख भएकाहरुलाई प्राविधिक ज्ञान, कृषिऔजार र सहुलियत ऋणको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्