
वासिङटन, मंसिर ६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा पनि कोरोनाभाइरसबाट संक्रमित हुनुभएको छ ।
उहाँका व्यक्तिगत प्रवक्ताले जेष्ठ पुत्र डोनाल्ड ट्रम्प जुनियरलाई कोरोना संक्रमण भएको शुक्रबार पुष्टि गरेका हुन् ।
‘कोरोनाभाइरसबाट संक्रमित भएको पुष्टि भएपछि उहाँले स्वास्थ्यकर्मीहरुको सिफारिसअनुसारका सबै मापदन्ड तथा नियमहरुको पालना गर्नुभएको छ’–ती प्रवक्ताले भनेका छन् ।
संक्रमित पुष्टि भएसँगै उहाँ ‘क्वारेन्टिन’मै रहनुभएको पनि प्रवक्ताले जानकारी दिएका छन् ।
यसअघि, राष्ट्रपति ट्रम्प पनि निर्वाचनको पूर्वसन्ध्यामा कोरोनाभाइरसबाट संक्रमित हुनुभएको थियो ।
त्यसैगरी, ट्रम्पपत्नी तथा प्रथम महिला मेलानिया ट्रम्प, सानो छोरो बोर्न, मुख्य कर्मचारी मार्क मेडोस र अरु केही सदस्यहरुसमेत केही समयअगाडि कोरोनाभाइरसबाट संक्रमित हुनुभएको थियो ।
अहिले ट्रम्प जुनियरकी केटी साथी किमबेर्ली गुइल्फोयले पनि संक्रमित हुनुभएको अधिकारीहरुले जानकारी दिएका छन् ।
ट्रम्प जुनियर हालै २५० भन्दा बढी अतिथिहरु सहभागी भएको भोजमा सहभागी हुनुभएको थियो ।
राष्ट्रपति कार्यालय ह्वाइट हाउसमै आयोजना गरिएको सो रात्रिभोजमा सहभागी लगभग सबैले मास्क लगाएका थिएनन् ।
प्रतिक्रिया दिनुहोस्