१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेसमा सहमतिको खाका तयार पार्नमा ढिलाइ, मत्थर भएन विवाद


0
Shares

काठमाडौं, मंसिर ६ । महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्काले सहमतिको खाका तयार पार्न ढिलाई गर्दा नेपाली कांग्रेसभित्रको कलहले किनारा पाउला कि नपाउला, अझै यसै भन्न सकिने अवस्था छैन ।

पाँचपटकभन्दा बढी केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेर विवादका विषयमा संस्थापन र इतर समूहले छलफल गरेपनि विवाद अझै मत्थर हुन नसकेको हो ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस महाधिवेशनको सम्मुखमा क्रियाशील सदस्यता वितरण, भ्रातृसंस्थाको महाधिवेशन, विभागहरुको गठन र खारेजीलगायतका विषयमा रुमलिएको छ ।

कात्तिक २८ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले गठन भएको विभागबाहेक अधिकांश विषयमा सहमति जुटाउने अपेक्षा गरिएको थियो ।

बैठकको सहमतिबमोजिम मंसिर मासान्तभित्र क्रियाशील सदस्यताको सूची केन्द्रमा पठाउन जिल्लाहरुलाई पार्टीले ताकेता गरेपनि अन्य विवाद समाधानमा विषयमा भने कुनै प्रगति हुन सकेको छैन ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको मतअनुसार पार्टीमा क्रियाशील सदस्यताको विवादले किनारा पाएको छैन ।

यस्तै, भ्रातृ तथा शुभेच्छुक संस्थाले अधिवेशन नगरी पार्टी महाधिवेशनमा प्रतिनिधित्व गराउन नहुने मागलाई सभापति शेरबहादुर देउवाले बेवास्ता गरेको पौडेल समूहको गुनासो छ ।

तर, संस्थापन पक्षले भने यसलाई महाधिवेशनकेन्द्रित फन्डाको रुपमा बुझेको छ ।

गठन भएका विभागहरु खारेज गर्नुपर्ने पौडेल समूहको अडानमा पनि सभापति देउवा गम्भीर देखिनुभएको छैन ।

आसन्न १४औं महाधिवेशनमा नौ लाखभन्दा बढी क्रियाशील सदस्य पुर्‍याउने महत्वाकांक्षा साँध्नुभएका उहाँले विजयकुमार गच्छदारसहितका नेताहरुलाई भाग रिझाउन विभाग थप्ने अन्तिम गृहकार्य गरिरहनुभएको बताइन्छ ।

केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ पार्टीको विवादमा देउवामात्र गलत भन्ने ठाउँ नभएको तर्क गर्नुहुन्छ ।

यता, माग सम्बोधन नभए आन्दोलनमा जाने तयारी पौडेल समूहको छ ।

फागुनमा महाधिवेशन असम्भव देखेका कांग्रेसीहरु विवादकैबीच महाधिवेशन कार्यतालिका हेरफेर गर्ने गृहकार्यमा छन् ।

संस्थापन र इतर दुवै समूहका नेताहरुलाई महाधिवेशनबाट शक्तिआर्जन गर्नुपर्ने अवस्था छ ।

अहिलेको विवादलाई ट्ंग्याउँदा दुवै समूहका मुद्दा कमजोर बन्ने हुँदा पनि कांग्रेसमा आन्तरिक किचलो छिट्टै समाधान हुने सम्भावना देखिँदैन ।

भिडियो हेर्नुहोस्

भिडियोः राममान डंगोल र विशाल लामा ।