
काठमाडौं, मंसिर ६ । नेपालमा पछिल्लो केही दिनयता कोरोनाभाइरस संक्रमणपछि निको हुनेको संख्या बढ्दै गएको छ ।
हालसम्म दुई लाख १८ हजार ६३९ जनामा संक्रमण पुष्टि भएकोमा शनिबारसम्म एक लाख ९३ हजार ३२५ व्यक्ति उपचारपछि निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार हाल देशभर २४ हजार नौजना सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयको तथ्यांकअनुसार संक्रमणमुक्त हुने दर ८८.४ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घन्टामा आठ हजार १४४ जनाको ‘पीसीआर’ परीक्षण गर्दा एक हजार ६७४ जनामा संक्रमण देखिएको छ ।
काठमाडौं उपत्यकामा मात्रै ८९९ जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घन्टामा देशभरबाट दुई हजार ३२३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
यस्तै, पछिल्लो २४ घन्टामा कोरोनाका कारण थप सातजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ३०५ पुगेको छ ।
हाल मनाङ र मुगुमा एकजना पनि सक्रिय संक्रमित छैनन् ।
काठमाडौं उपत्यकासहित झापा, मोरङ, सुनसरी, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही र कैलालीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
उनीहरुमध्ये १७ हजार २०६ जना ‘होम आइसोलेसन’मा छन् ।
हाल ३३६ जनाको ‘आईसीयू’ र ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्