१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्व. राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ सर्वसाधारणका लागि खुला (भिडियोसहित)


0
Shares

काठमाडौं, मंसिर ६ । नारायणहिटी दरबार संग्रहालयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणका लागि खुला गरिएको छ ।

२०५८ साल जेठ १९ गते भएको दरबार हत्याकान्डमा वीरेन्द्रको वंशनास भएदेखि बन्द रहेको सदन २०७७ वैशाख १ गतेदेखि खुला गर्ने भनिएपनि कोरोना महामारीका कारण बन्द नै थियो ।

श्री सदनको आइतबार (भोलि)देखि सर्वसाधारणले अवलोकन गर्न पाउनेछन् ।

सर्वसाधारणहरुले मोटर ग्यारेजमा हिटलरले स्व. राजा त्रिभुवनलाई उपहारस्वरुप दिएको कार, वीरेन्द्रले राजकीय समारोहमा प्रयोग गर्ने श्रीपेच भएको गाडी, विदेशी पाहुनाले प्रयोग गर्ने गाडी हेर्न पाउनेछन् ।

यस्तै, वीरेन्द्रले प्रयोग गरेको हेलिकोप्टर र हवाईजहाज पनि अवलोकनका लागि राखिएको छ ।

वि.सं. २०२३ सालमा बनेको यो सदन तीनतलाको छ । १२ कोठा भएको यो भवनको भुइँतलामा वीरेन्द्रको निजी कार्यालय थियो ।

उमेर पुगेपछि दीपेन्द्र शाह श्री सदनबाट त्रिभुवन सदनमा सर्नुभएको थियो । परिवारका अरु सदस्य श्री सदनमै बस्दै आएका थिए ।

हेर्नुहोस्, ईमेज च्यानलले केही समय पहिले बनाएको भिडियो रिपोर्टः

(ईमेज अर्काइभबाट)

इतिहासलाई संरक्षण गर्नुपर्छ : मन्त्री भट्टराई
शनिबार आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राजतन्त्रको अन्त्यका निम्ति हिँडेको व्यक्ति नै राजतन्त्रको इतिहासलाई संरक्षण गर्न पाउनु गौरवपूर्ण भएको बताउनुभयो ।

इतिहास कसैको दुस्मन नभइ घटना तथा यथार्थ भएको बताउँदै उहाँले इतिहासलाई संरक्षण गर्नुपर्ने बताउनुभयो ।

श्री सदन खुला गरिएसँगै राजा वीरेन्द्रको जीवनशैली, पारिवारिक अवस्थालगायतका विषयमा बुझ्न सहयोग पुग्ने मन्त्री भट्टराईको भनाइ थियो ।

कार्यक्रममा नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले अहिलेसम्म ५२ कक्षमध्ये ३२ ओटामात्रै खुला भएको भन्दै सबै ढोकाका नाम हिमालबाट र सबै कोठाहरुका नाम जिल्लाबाट राखिएको जानकारी दिनुभयो ।

मनाङ, मुस्ताङ, जाजरकोटलगायतका १२ ओटा कक्ष खुला गर्न बाँकी रहेको र समयक्रमअनुसार सबै खुला हुने उहाँले जानकारी दिनुभयो ।

भिडियो हेर्नुहोस्

https://www.facebook.com/imagekhabar.com.np/videos/1261120630929531