
काठमाडौं, मंसिर ६ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नगलाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम तत्काल सम्पन्न गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ ।
जाजरकोटमा आयोजनास्थल रहेको कुल ४१७ मेगावाट क्षमताको जलाशययुक्त सो आयोजनाको डीपीआरको तयारीमा नै लामो समय लागेको गुनासो आएपछि मन्त्री पुनले उक्त निर्देशन दिनुभएको हो ।
जाजरकोटबाट प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, ऊर्जा मन्त्रालयका सहसचिव प्रवीणराज अर्याल र नलगाड हाइड्रोपावर कम्पनीका अध्यक्ष मोहनराज पन्त र कार्यकारी अधिकृत रामगोपाल लगेजु सहभागी शनिबारको छलफलमा मन्त्री पुनले तत्काल डीपीआर सक्न निर्देशन दिनुभएको हो ।
चार वर्षभन्दा लामो समयदेखि डीपीआरको काम जारी रहेपनि अझै पूरा हुनसकेको छैन ।
परामर्शदाता कम्पनी एमडब्लुएच कन्सलटेन्टले डीपीआर ३२ महिनाभित्र सक्ने गरी कम्पनीसँग सम्झौता गरेको थियो । त्यसयता पटक–पटक म्याद थप हुँदै आएको छ ।
मन्त्री पुनले कर्णाली प्रदेशको मुहार फेर्ने आयोजना भएकाले डीपीआरको काम तत्काल सकेर आयोजना निर्माण थाल्नुपर्नेमा जोड दिनुभयो ।
नलगाड आयोजना क्षेत्रीय ऊर्जा सन्तुलन कायम गर्न तथा कर्णालीको विकासमा कोसेढुंगा हुने मन्त्री पुनको भनाइ थियो ।
मन्त्री पुनले आयोजना निर्माणका लागि वैदेशिक लगानी जुटाउन सरकार प्रयासरत् रहेको जानकारी पनि दिनुभयो ।
जापानी सहयोग नियोग (जाइका)ले नलगाडमा लगानीको इच्छा देखाएको भन्दै उहाँले विभिन्न चरणमा मन्त्रालय र जाइकाबीच लगानीबारे संवाद भइरहेको उल्लेख गर्नुभयो ।
यस्तै, वन तथा वातावरणमन्त्री बस्नेतले जाजरकोट र समग्र कर्णालीको मुहार फेर्ने आयोजना निर्माणमा ढिलाइ हुन नहुने बताउनुभयो ।
सम्बन्धित क्षेत्रको प्रतिनिधिसभा सदस्यको हैसियतमा आफूले आयोजना निर्माणको काम अघि बढाउन संघ, प्रदेश, स्थानीय तह र स्थानीय प्रभावित क्षेत्रका जनताबीच समन्वयको काम गर्ने उल्लेख गर्नुभयो ।
यस्तै, कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आयोजना निर्माणमा आवश्यक सबै प्रकारको समन्वय गर्न प्रदेश सरकार तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।
छलफलमा कम्पनीका अध्यक्ष पन्तले परामर्शदातासँग समन्वय गरेर डीपीआरको काम तत्काल सक्ने जानकारी दिनुभयो ।
आयोजनाको नलगाड गाउँपालिका–७, दल्लीमा विद्युत्गृह र बारेकोट गाउँपालिका–८, अँधेरीखोलामा आयोजनाको बाँधस्थल छ ।
नलगाड नगरपालिकास्थित नलगाड खोला र ठूलीगढीको दोभाननजिकै भूमिगत विद्युत्गृह निर्माण हुनेछ ।
आयोजनाको कुल छ किलोमिटर लामो जलाशय र २१० मिटर अग्लो बाँध तथा ८.२ किलोमिटर लामो सुरुङ बन्नेछ ।
बाँधस्थलदेखि विद्युत्गृहसम्मको पहुँचमार्ग निर्माणको काम यसअघि नै सकिएको छ ।
यस्तै, कुल चार हजार ६०५ रोपनी जमिनका लागि वितरण गरिनुपर्ने रु दुई अर्ब ७६ करोडमध्ये रु दुई अर्ब ५० करोड मुआब्जा वितरण सकिएको छ । यो कुल मुआब्जाको करिब ९० प्रतिशत हो ।
ठूलोभेरी नदीको शाखा नदीमा बन्ने आयोजना निर्माणका लागि रु एक अर्ब ४२ अर्ब लागत लाग्ने प्रारम्भिक अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्