
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना महामारीको बेला समेत सरकार रमिते बनेको बताउनु भएको छ ।
आइतबार आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरुसँगको भेटघाटका क्रममा उहाँले, यस्तो विषम परिस्थितिमा समेत सरकार भ्रष्टाचारमा लिप्त रहेको र जनजीविकाको सवालमा गैरजिम्मेवार बनेको आरोप लगाउनुभयो ।
यो सरकार स्वार्थमा डुबेको छ । भ्रष्टाचारमा लिप्त छ,’ पूर्वउपप्रधानमन्त्रीसमेत रहनु भएका नेता सिंहले भन्नुभयो, ‘मुलुकका तमाम समस्यामा सरकार बेखबर छ । यो लोकतन्त्रवादीहरुका लागि समेत अशोभनीय हो ।’
सरकारले संघीयताको मर्म र भावनाअनुसार नीति निर्माणमा समेत चासो नदिनु दुःखद भएको उहाँले बताउनुभयो ।
यतिबेला आफूहरुले प्रमुख प्रतिपक्षीको रुपमा उठाउनु पर्ने विषय उठाउँदै आएपनि सरकारले नसुनेको उहाँले बताउनुभयो ।
कोरोना महामारीका कारण तत्कालै सडक आन्दोलनमा जाने अवस्था नरहेको बताउँदै उहाँले भन्नुभयो, ‘भन्नुपर्ने ठाउँमा भनेकै छ, बोल्नुपर्ने ठाउँमा सबैले बोलेकै छ तर यो सरकारले सुन्दैन । यो सरकारले न जनताको आवाज सुन्छ, न प्रतिपक्षीको ।’
सरकारले कोरोना महामारीको बेला गर्नुपर्ने न्युनतम काम पनि गर्न नसकेको बताउँदै उहाँले अब आफ्नो सुरक्षामा आफैं लाग्नुपर्ने बताउनुभयो । ‘कोरोना महामारीको बेलामा सरकारले के गर्यो अब यो भनिरहनु परेन,’ उहाँले भन्नुभयो, ‘ अब गर्छ भन्ने आस गर्ने ठाउँ पनि रहेन । यसर्थ आफैं आफ्नो सुरक्षामा लाग्नुपर्छ ।’
काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहनु भएका नेता सिंहले अब संसद बैठक तत्काल डाकेर हरेक विषयमा छलफल हुनुपर्ने बताउनुभयो ।
आफ्नो निर्वाचन क्षेत्रमा स्थानीय नागरिकसँग सामाजिक दुरी कायम राख्दै उहाँले विकास निर्माण र जनगुनासो सुन्दै आउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्