
अमेरिकी जनताले अर्को महिनादेखि कोरोना भाईरसविरुद्धको खोप पाउने भएका छन् ।
खोपको अनुमति दिने र प्रमाणिकरणका सबै प्रक्रिया यही डिसेम्बर ११ सम्म पूरा हुने अमेरिकी खोप कार्यक्रमका प्रमुखले बताएका छन् ।
अमेरिकी समाचार संस्था सीएनएनसँगको कुराकानीमा अमेरिकी खोप कार्यक्रम प्रमुख डा.मोन्सेफ स्लाओइले अनुमति पाएको २४ घण्टाभित्र खोप साइटहरुमा पठाइने जानकारी दिनुभयो ।
फाइजर र उसको पार्टनर बायोएन्टेक तथा मोडेर्नाले तयार पारेको खोपको अध्ययन अनुसन्धानकै क्रममा रहेको भन्दै डा. मोन्सेफले ती खोपहरु अनुमोदनका लागि १० डिसेम्बरसम्म कुर्नुपर्ने र ११ डिसेम्बरमा अमेरिकी नागरिकहरुले खोप प्राप्त गर्नसक्ने जानकारी दिनुभयो ।
यसैबीच अमेरिकी संक्रमण रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले खोप प्रयोगमा ल्याए आगामी वर्ष अमेरिकामा कोरोना नियन्त्रणमा आउने दावी गर्नुभयो ।
जोन्स हपकिन्स विश्वविद्यालयको तथ्यांक अनुसार अमेरिकामा १ करोड २० लाख मानिस कोराना संक्रमित छन् भने मृतकको संख्या २ लाख ५५ हजार नाघिसकेको छ ।एजेन्सी
प्रतिक्रिया दिनुहोस्